
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमसम्बन्धी समस्या समाधान गर्न तथा सामाजिक न्याय प्रवर्धनमा नेपाल प्रतिवद्ध रहेको बताउनु भएको छ ।
जेनेभामा आयोजित ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री अर्यालले श्रमिकलाई मर्यादित कार्यमा लगाउने कार्यसूची कार्यान्वयन गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।
मन्त्री अर्यालले श्रमसम्बन्धी ऐन, कानुनको कार्यान्वयन तथा सुधारका साथै त्यसक्रममा प्राप्त अनुभव, उपलब्धिबारे जानकारी दिएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
मन्त्री अर्यालले मंगलबार मलेसियाका मानव संशाधन मन्त्री चि केओङ सिमसँग भेटवार्ता गर्नुभएको थियो । उहाँहरूबिच नेपाली आप्रवासी कामदारका लागि सुरक्षित कामको वातावरण निर्माण र कामदारको सीप अभिवृद्धिमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
त्यस्तै मन्त्री अर्याल र कतारका श्रम मन्त्री अली समिख अल मारीबिच पनि मंगलबार भेटवार्ता भएको थियो । दुवै मन्त्रीले नेपाली कामदारको समस्या समाधान र कामको अवस्था सुधार गर्न द्विपक्षीय सहयोगलाई सुदृढ बनाउने उपायबारे छलफल गरेको
उक्त नियोगले जनाएको छ ।
यस्तै आज मन्त्री अर्याल सम्मेलनमा सहभागी हुने राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा सामेल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्