२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

विपद् न्युनिकरणका लागि सबै एक हुनुको विकल्प छैन : अध्यक्ष नेपाल


0
Shares

काठमाडौं । जलवायु परिवर्तनको असर सबैभन्दा बढी महिला, बालबालिका र वृद्धवृद्धाहरुमा परेको भन्दै नेपाल रेडक्रस सोसाइटीले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ ।

काठमाडौंमा हिट एक्शन डे (तातो हावा लु दिवस)को अवसरमा एक कार्यक्रमबीच रेडक्रसले लक्षित वर्गलाई मध्यनजर गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको जनाएको हो ।

जलवायु परिवर्तनका कारण नेपालका विभिन्न स्थानमा लु बढेको भन्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले हिट एक्शन डेको अवसरमा बोल्दै रेडक्रसले जलवायु परिवर्तनका असरबाट कसरी बच्ने भन्ने उपायहरु आम मानिसमा बुझाउन आवश्यक भएको बताउनुभयो । कुनैपनि विपद्लाई निमिट्यान्न गर्न नसकिने भन्दै उहाँले न्युनिकरणका लागि आवश्यक पहल गर्न जोड दिनुभयो ।

हिट एक्शनका क्षेत्रमा सरकारको सहयोगीको रूपमा नेपाल रेडक्रस सोसाइटीले स्थानीय निकायहरूसँग समन्वय गरी प्रतिकार्यका विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको बताउनु भयो । विश्वव्यापी समस्याको रुपमा रहेको तातो हावा लुको प्रतिकार्यका लागि सम्बन्धित सबै पक्षको सहकार्य र समन्वय अपरिहार्य रहेको बताउनु भयो । उहाँले केन्द्र, प्रदेश र स्थानीय तह एवं सम्बन्धित सरोकारवाला निकायहरु मिलेर गएमात्रै समस्याको समाधान हुनसक्ने बताउनुभयो ।

अध्यक्ष नेपालले रेडक्रकसले स्थानीय तहसँग मिलेर लु लगायत जलवायु परिवर्तनको असर न्युनिकरणका लागि आवश्यक काम गरिरहेको बताउनुभयो । उहाँले तातो हावाको असरबाट बच्न रेडक्रसले आम नागरिकहरुलाई सचेत गराइरहेको जानकारी दिनुभयो । उहाँले तातो हावाबाट बच्न सडकमा खटेका ट्राफिक प्रहरीसहित आम नागरिकलाई पनि सचेतना दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । जलवायु परिवर्तनको सबैभन्दा बढी असर विपन्न वर्ग र दैनिक जीवन यापनका लागि दिनहुँ बाहिर गएर काम गर्नुपर्ने मानिसमा परेको बताउनुभयो ।

अध्यक्ष नेपालले सचेतना फैल्याउनेहरुलाई पनि जटिलता रहेको भन्दै आफू बँचेर अरुलाई बचाउने काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले चिसोपानी, सर्वत पानी र यसबारेमा चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले यि कार्यक्रमहरु रेडक्रसले स्थानीय सरकारसँग जोडिेर लगेको बताउनुभयो । नेपाल रेडक्रस सोसाइटीले बाँकेको नेपालगञ्ज, रुपन्देहीको सिद्धार्थनर, धनगढी र विराटनगरमा सिमान्तकृत समुदाय लक्षित गरी तातो हावाको लहर (लु) प्रतिकार्य कार्यक्रमका गतिविधिहरू सञ्चालन गरिरहेको छ ।