२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुग्ण उद्योग सञ्चालनका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको छु : मन्त्री भण्डारी


117
Shares

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताउनुभएको छ ।

बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले मन्त्रालयले रुग्ण उद्योगहरु सञ्चालनको लागि आवश्यक गृहकार्य गरेको बताउनुभयो । उहाँले रुग्ण उद्योगहरु सञ्चालनका लागि आएका अध्ययन प्रतिवेदनहरु अध्ययन गरिरहेको बताउनुभयो । उहाँले सबै उद्योगहरु एकै पटक सञ्चालन गर्ने आधारहरु नबन्ने बताउनुभयो ।

मन्त्री भण्डारीले रुग्ण रहेका उद्योगलाई प्राथमिकताका आधारमा वर्तमान अवस्थामा सबै भन्दा पहिला कुन उद्योगलाई सञ्चालन गर्ने भन्ने विषयमा पनि आवश्यक तयारी गरेको बताउनुभयो । उहाँले बिहीबार मात्रै प्रधानमन्त्रीसहित सम्बन्धित निकायहरुसँग रुग्ण उद्योग सञ्चालनको मोडालिटीका बारेमा जानकारी गराइएको बताउनुभयो । उहाँले सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएका गोरखकाली रवर उद्योग,बुटवल धागो र हेटाँैडा कपडा उद्योग लगायतका उद्योगलाई पहिलो चरणमा सञ्चालन गर्ने गरी तयारीका चरणहरुमा छलफल र अध्ययन जारी राखेको बताउनुभयो ।

मन्त्री भण्डारीले मन्त्रालयले रुग्ण उद्योगलाई उच्च प्राथमिकतामा राखेर सञ्चालनको मोडालिटी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले मन्त्रालय सम्हालेको एक सय दिनमा मन्त्रालयले नवप्रवर्तनकारी एवं सृजनशील सोचमार्फत उद्यमशीलता विकास गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताउनु भयो ।

मन्त्री भण्डारीले नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ वटा कानून समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा गरिएको, विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भएको बताउनुभयो । उहाँले प्राइभेट फर्म रजिस्ट्रेसन नियमावली, २०३४ संशोधन गरिएको बताउनुभयो ।

मन्त्री भण्डारीले स्टाण्डर्ड नाप र तौल नियमावली, २०८० स्वीकृत भएको बताउनुभयो । उहाँले द्विपक्षीय लगानी सम्झौताको नमूना ढाँचा स्वीकृत गरिएको बताउनुभयो । उहाँले नेपाली उत्पादन र उपभोग अभिवृद्धि गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको दाबी गर्नुभयो । उहाँले भूकम्पीय जोखिम न्युनिकरण गर्ने उद्देश्यले नेपाल सरकार र चीन सरकारबिच हुने समझदारी पत्र स्वीकृत गरिएको पनि बताउनुभयो ।

मन्त्री भण्डारीले स्थानीय मदिराको ब्राण्डिङ्ग र प्रवद्र्धन गर्न अध्ययन प्रतिवेदन तयार गरिएको बताउनुभयो । उहाँले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्न १८३ वटा प्रश्ताव छनौट गरी सिफारिस गरिएको भन्दै स्टार्टअपलाई सहयोग पु¥याउन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानमा बिजनेस इन्क्यूवेशन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुुभयो । उहाँले एक दिनमा मन्त्रालयबाट विभिन्न कार्यविधि तथा कानूनसहित ८८ वटा काम गरेको उल्लेख गर्नुभयो ।