
काठमाडौं । नवलपुरको कावासोतीमा ढल निर्माणका क्रममा बिहीबार तीन जनाको पुरिएर मृत्यु भएको विषयमा शुक्रबार पीडित पक्षले नगरपालिका कार्यालय र मेयरको घरमा ढुंगामुढा गरेका छन् ।
कावासोतीको फलफूल चोकमा ढल निर्माणका लागि नाला खन्ने क्रममा बिहीबार तीन मजदुरहरु तानमाया गाहा मगर, सोती राना मगर र चमेली दर्लामी मगरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको थियो । नगरपालिकाको लापरबाहीका कारण मजदुरहरुको मृत्यु भएको भन्दै पीडित र स्थानीयले आज कावासोती नगरपालिकाको कार्यालय, वडा नम्बर २ को कार्यालय र मेयर विष्णु भुसालको घरमा ढुंगामुढा गरेका हुन् ।
प्रदर्शनकारीले मेयर भुसालको घरमा आगजनीको प्रयास गरेका थिए । प्रदर्शनकारीहरु उग्र रुपमा प्रस्तुत भएपछि प्रहरीले केही राउण्ड हवाई फायर गर्नुका साथै लाठीचार्ज र अश्रुग्यास प्रहार समेत गरेको छ । त्यस क्रममा केही प्रदर्शनकारीहरु घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
झडपपछि नगरपालिकाका पदाधिकारी, पीडित पक्ष, स्थानीय र प्रहरीबीच वार्ता भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्