२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन गर्दैनौं : अर्थमन्त्री पुन


325
Shares

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरुमा परिवर्तन नगर्ने बताउनुभएको छ ।

शनिबारबाट ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताउनुभयो । उहाँले नेपालका लागि आइटी क्षेत्र प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र भएको पनि बताउनुभयो । उहाँले १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्वाकांक्षी योजना सरकारले ल्याएको पनि बताउनुभयो ।

अर्थमन्त्री पुनले काठमाडौंमा तत्काल एउटा आइटी हब बनाउने र त्यसका लागि केही ठाउँहरु हेरिसकिएको पनि बताउनुभयो । उहाँले सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । सरकारको तर्फबाट काठमाडौंमा कम्तिमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरु स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने बताउनुभयो ।

अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र १ खर्बको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताउनुभयो ।