१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद सचिवालयका कर्मचारीको माग पूरा गर्न सरोकारवाला पक्ष सकारात्मक


234
Shares

काठमाडौं । अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा माग गर्दै आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुको जायज माग पूरा गर्न राजनीतिक दलहरु सकारात्मक भएका छन् ।

सोमबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले राजनीतिक दलका प्रमुख सचेतक, संघीय संसद सचिवालयका महासचिव, सचिवहरु लगायतसँग कर्मचारीहरुको आन्दोलनको सम्बन्धमा छलफल गर्नुभएको थियो । छलफलका क्रममा सरोकारवाला सबैले कर्मचारीहरुको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीहरुको न्यायोचित मागलाई पूरा गर्नुपर्ने साझा निष्कर्ष रहेको बताउनु भयो । उहाँले कर्मचारीहरुको मागलाई सम्बोधन गर्नका लागि अर्थमन्त्रीसँग पनि छलफल गर्नुपर्ने भएकाले मंगलबार अर्थमन्त्रीसँग छलफल हुने जानकारी गराउनुभयो । उहाँले संसद सचिवालयलाई आवश्यक बजेट विनियोजन गर्न सरकारले कन्ज्युस्याइँ गर्नु नहुने पनि बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले बजेट अभावलाई देखाउँदै संसदीय समिति बैठकमा गैरसरकारी संस्थाले खाजा खुवाउने सम्मको घटना देखिएको भन्दै यस्तो हुनु दुःखद् भएको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै आधिकारिक कर्मचारी युनियनका अध्यक्ष गोविन्दप्रसाद बेल्वासेले बैठकमा कुनै ठोस सहमति हुन नसकेको बताउनुभयो । उहाँले आफूहरुले पाउने सेवा, सुविधालाई समयानुकुल बनाउनुपर्ने माग सम्बोधन नभए आन्दोलन जारी रहने पनि बताउनुभयो । उहाँले आफूहरुको आन्दोलन फिर्ता नभएको स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुसँग लिखित सहमति नभएसम्म कार्यालय समयभन्दा बढी काम नगर्ने बताउनुभयो ।