१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सत्ता गठबन्धनभित्रै असन्तुष्टि पोखापोख


4.706k
Shares

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले सरकारका काम कारबाहीप्रति सार्वजनिक रुपमै असन्तुष्टि पोख्न थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरिरहेको बेला गठबन्धनको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले पनि सरकारबारे समिक्षा गर्ने बेला भएको बताउन थालेका छन् । यसले प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको निरन्तरतामाथि नै संशय पैदा गरेको छ ।

गत शनिबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति मात्रै असन्तुष्टि जनाउनु भएन, बरु एमाले देश विकासका लागि सरकारमा गएको तर त्यही नै हुन नसकेको भन्दै सरकारका काम कारबाहीप्रति पनि स्पष्ट असन्तुष्टि जनाउनुभयो ।

सत्ता गठबन्धनको सवैभन्दा ठूलो दल एमाले मात्रै होइन, गठबन्धनको तेस्रो ठूलो दल रास्वपा नेताले पनि सार्वजनिक रुपमै सरकारलाई दिएको समर्थनको समिक्षा गर्ने बेला भयो भन्न थालेका छन् । एमाले अध्यक्ष ओलीले संसदीय दलको बैठक मार्फत असन्तुष्टि जनाएकै दिन रास्वपा नेता एवं युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफूहरुले राजीनामा खल्तीमा बोकेर हिंडेको भन्दै अनावश्यक र अनधिकृत रूपमा सम्झौता गरेर सरकारमा नबस्ने बताउनुभयो ।

त्यसो त गृहमन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा गत शुक्रबार मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने क्रममा रास्वपा सभापति रवि लामिछाने स्वयंले पनि आफू सरकारमा भए पनि सत्ता अरु कसैले चलाईरहेको भन्दै असन्तुष्टि पोख्नुभएको थियो । प्रधानमन्त्री दाहालले भने एमाले अध्यक्ष ओली र रास्वपा नेताहरुका असन्तुष्टिका स्वरहरुलाई गम्भीर रुपमा लिनुपर्ने अवस्था नरहेको दाबी गर्नुभएको छ । आज चितवन विमानस्थलमा दाहालले ओलीको असन्तुष्टि सामान्य मात्रै रहेको र सरकार छाड्ने धम्की दिने रास्वपाको पहिचान नै भएको टिप्पणी गर्नुभयो ।

आगो नबाली धुँवा निस्किदैन भने झैं गठबन्धन दलहरुमा खटपट नै नभएको चाहीँ पक्कै होइन । प्रधानमन्त्री दाहालकै शब्दमा भन्ने हो भने पनि अर्को छलाङ नै मार्ने अवस्था आईसकेको नहोला । तर सामान्य असन्तुष्टि मात्रै हो भन्न अवस्था चाहीँ छैन ।