
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युक्रेनमा रहेका नेपालीको रिहाइको पहल गरिदिन जर्मनी सरकारसँग आग्रह गर्नुभएको छ ।
भ्रमणका क्रममा जर्मनी पुग्नुभएका राष्ट्रपति पौडेलले जर्मनीका समकक्षी राष्ट्रपति फ्र्यांक वाल्टर स्टाइनमायरलाई आग्रह गर्नुभएको हो ।
स्विट्जरल्यान्डको जेनेभामा भएको १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा सहभागी भएर जर्मनी पुग्नु भएका राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति स्टाइनमायरबीच बर्लिनमा भेटवार्ता भएको हो ।
भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिँदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै दिगो शान्ति र विकासको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल तल्लीन रहेको र नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
त्यसैगरी, विकासशील मुलुकलाई जलवायु परिवर्तनको प्रभावसँग जुध्न जर्मनीले लस एन्ड ड्यामेज फन्डमा गरेको सहयोग प्रतिवद्धतालाई स्वागत गर्न चाहेको पनि बताउनुभयो । राष्ट्रपति पौडेललाई जर्मनीले गार्ड अफ ओनर प्रदान गरेको थियो । राष्ट्रपति पौडेल भोली स्वदेश फर्कनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्