२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ताप्लेजुङमा उद्धार र राहतका लागि मन्त्रीको निर्देशन


182
Shares

ताप्लेजुङ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले विपद्का समयमा नागरिकको उद्धार र राहतका लागि एकीकृत ढंगले काम गर्ने बताउनुभएको छ । विपद् व्यवस्थापन एउटै निकायको मात्र प्रयासले नहुने भन्दै उहाँले सरोकारवाला निकायको साथ लिएर आफ्नो मन्त्रालयले काम गर्ने बताउनुभयो ।

विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायसँग ताप्लेजुङमा भएको समन्वय बैठकमा मन्त्री अधिकारीले आपत विपद्का समयमा कसैको आदेश र निर्देशन नपर्खि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपुर्वक लाग्न आग्रह गर्नुभयो ।

मनसुनको सुरुवाती समयमा नै ताप्लेजुङसहित प्रदेशका विभिन्न ठाउँमा जनधनको क्षति भएको भन्दै मन्त्री अधिकारीले विपद्जन्य घटनाको न्युनीकरण गर्ने र भइहालेका ठाउँमा पीडितको उद्धार र राहतका कार्यमा मन्त्रालयको पहिलो प्राथमिकता रहेको पनि बताउनुभयो । बाढी पहिरोका कारण मृत्यू भएका परिवारलाई दिने राहत रकमसमेत कार्यविधि संशोधन गरेर बढाइएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जेठ ३० देखि हालसम्म भएका बाढी र पहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गर्नुभएको थियो । बैठकमा गएको जेठ ३१ गते पहिरोमा परि मृत्यु भएका परिवारलाई राहत रकमसमेत प्रदान गरिएको थियो ।