
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताउनु भएको हो ।
प्रवक्ता महतले पार्टी सभापति शेरबहादुर देउवाले अधिवेशनमा संविधान संशोधनको विषयमा प्रवेश गराइसक्नु भएको उल्लेख गर्दै समावेशिता, समानुपातिकता प्रत्यक्ष निर्वाचनबाटै हुनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सहमति जुटाइ काँग्रेसले सो बाटोमा अभियान छेड्नुपर्ने बताउनुभयो । उहाँले एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुने व्यवस्था राख्नुपर्ने बताउनुभयो ।
‘केन्द्र र प्रदेशमा महिला उम्मेदवारले महिला उम्मेदवारसँगै प्रतिष्पर्धा गर्ने हुनुपर्छ । सिट रोटेशनमा हुनुपर्छ । एक तिहाई निर्वाचन क्षेत्रमा महिला मात्रै उम्मेदवार हुनुपर्छ । जुनसुकै पार्टीका होउन् । अर्को पल्ट अर्को एक तिहाई क्षेत्रमा फेरि महिला महिला बीच हुनुपर्छ । यसले राजनीतिक नेतृत्व विकसित गर्न मद्दत गर्दछ ।’ प्रवक्ता महतले भन्नुभयो ।
प्रवक्ता महतले संविधानमा रहेको निर्वाचन पद्धतिलाई संशोधन गर्ने समय आएको बताउनुभयो । नेपालको आर्थिक, सामाजिक, राजनीतिक विकास नेपाली काँग्रेसको नेतृत्वमा हुनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकारको अवस्था बेहाल रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्