
काठमाडौं । प्रतिनिधि सभामा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहाललाई सांसदहरुले सहकारी ठगी, राजदूतहरुको नियुक्ति, टीकापुर घटना, बजेट विनियोजनमा देखिएको विकृति लगायतका २१ वटा प्रश्न गरेका थिए ।
प्रधानमन्त्रीसँग प्रत्यक्ष सवाल–जवाफ कार्यक्रम अन्तर्गत १० जना सांसदले २१ वटा प्रश्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोधेका थिए । प्रश्नोत्तर कार्यक्रमको सुरुमा सासंद तेजुलाल चौधरीले टीकापुर घटनाको सम्बन्धमा गरेको प्रश्नमा प्रधानमन्त्री दाहालले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने भन्दै दोषी ठहर भएकाहरूको हकमा कानुन बमोजिम हुने र कैद माफि मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने बताउनुभयो ।
यसैगरी सांसद जिवन परियारले सहकारी रकम हीनामीना, ठगी र अपचलन तथा दुरुपयोग भएको भन्दै बचतकर्ताले कहिलेसम्म रकम पाउँछन् र सरकारले उक्त कार्य कहाँसम्म पु¥यायो भन्ने प्रश्न गर्नुभयो । उक्त प्रश्नमा प्रधानमन्त्री दाहालले देशभरबाट सहकारीसम्बन्धी उजुरी र गुनासो सङ्कलन, विश्लेषण गरी समस्याग्रस्त अवस्थाको पहिचान गर्ने काम भईरहेको भन्दै उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
यस्तै, अर्का सांसद दामोदर पौडेल बैरागीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट विभिन्न देशबाट उडान हुन्छ भन्ने सुनेपनि सरकारबाट आधिकारीक धाराणा नआएको भन्दै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सक्ने नसक्ने विषयमा प्रश्न गर्नुभएकोमा प्रधानमन्त्री दाहालले सरोकारवालाहरुसँग छलफल भईरहेको जवाफ दिनुभयो ।
सांसदहरुका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले संसदमा आफूले सम्बोधन गर्ने दिन वैठकमा पर्याप्त सांसद र मन्त्रीहरु नआएको भन्दै असन्तुष्टि पनि पोख्नुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा समेत उपस्थित नभएको र सांसदहरु पनि ज्यादै न्युन संख्यामा उपस्थित भएको देखेपछि गुनासो गर्नुभएको हो ।
धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने र साम्प्रदायिक विद्वेष फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको भन्दै दाहालले नेपाल र भारतका धार्मिकस्थललाई समेटेर रामायण तथा बुद्ध परिपथ निर्माण र प्रवर्द्धन गर्ने विषयमा सरकार गम्भीर रहेको पनि बताउनुभयो । स–साना योजना पनि संघीय सरकारको बजेटमा परेको सम्बन्धि प्रश्नमा प्रधानमन्त्री दाहालले सबैभन्दा कम बजेट रहेका योजना स्थानीय तहबाट र त्यो भन्दा माथिल्ला योजना प्रदेश तहबाट कार्यान्वयन गर्न सरकार दृढ रहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री दाहाललाई तेजुलाल चौधरी, दामोदर पौडेल बैरागी, दयालबहादुर शाही, दिक्पालबहादुर शाही, ठाकुर प्रसाद गैरे, जुलीकुमारी महतो, टेकबहादुर तामाङ, तारा तामाङ, जीवन परियार र जावेदी खातुनले प्रश्न गरेका थिए ।
कर्मकाण्डी सवाल–जवाफ
प्रतिक्रिया दिनुहोस्