
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताउनुभएको छ । शुक्रवार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरु र अध्येताहरुका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताउनुभयो । उहाँले नेपालका तीन सभ्यताहरुः शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने बताउनुभयो । उहाँले नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो । त्यसैले योग नेपालकै अमूल्य निधि भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा यहाँका पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिन्छ । मठ, मन्दिर र मूर्तिकलामा होस् वा चित्रकलामा, पौवा, थान्का सबैतिर योगको नै प्रभाव देखिन्छ । ढुंगेधारा, कुवा, इनार, राजकुलाका निर्माणमा पनि योग र तन्त्रको ज्ञानलाई प्रयोग गरेको अहिले पनि देख्न सक्छौँ । नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरुको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति हो । त्यसैले योग नेपालकै अमूल्य निधि हो ।’
प्रधानमन्त्री दाहालले प्राकृतिक हिसावले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्