२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जिबि राईलाई नेपाल ल्याउनने कुरामा विश्वस्त छु : गृहमन्त्री लामिछाने


520
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जिबि राईलाई नेपाल झिकाउन मलेसियाका गृहमन्त्रीसँग कुराकानी गरेर प्रक्रिया अगाडी बढाइएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले राज्यका निकायले गरेको अनुसन्धानबाट जिबि राई मलेसियामा रहेको तथ्य पत्ता लागेको भन्दै उनलाई नेपाल झिकाउने सन्दर्भमा मलेसियाका गृहमन्त्रीसँग दुई पटक कुराकानी गरिसकेको बताउनुभयो । उहाँले कानूनी माध्यमबाट नै समस्याको हल गर्नुपर्ने भन्दै दुवै तर्फका राज्य संयन्त्र संवादमा रहेका बताउनुभयो ।

गृहमन्त्री लामिछानेले संवादको क्रममा मलेसिया सरकार सकारात्मक देखिएको र माग गरे अनुरुपको कागजात नेपालबाट पठाइएको पनि जानकारी दिनुभयो । उहाँले जिबि राईलाई नेपाल ल्याएर पीडितको बचत फिर्ता गराउने वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले आफूमाथि लागेको लाञ्छनाबाट मुक्ति पाउनका लागि पनि राईको पक्राउ आफ्नो लागि व्यग्र प्रतिक्षाको विषय बनेको बताउनुभयो । उहाँले राईलाई नेपाल ल्याउन सरकार सफल हुने कुरामा विश्वस्त रहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो गिरिबन्धु टि स्टेटको उजुरी कुरेर बसेको बताउनुभयो । उहाँले उजुरी आएपछि कुनैपनि बेला यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी तयार रहेको बताउनुभयो ।

गृहमन्त्री लामिछानेले बजेट पास भएको दुई महिनाभित्र बिगतमा भएका २५ वटा काण्डहरुको फाइल तयार गर्नको निमित्त एउटा शक्तिशाली आयोग बनाउने बताउनुभयो । उहाँले पतञ्जली आयुर्वेद कम्पनीको फाइल आजैबाट खुलेको पनि जानकारी दिनुभयो । उहाँले भूटानी शरणार्थीको बन्द भएको फाइल खुल्ने तयारीमा रहेको बताउनुभयो । बालमन्दिर र स्काउटको फाइल बन्द नभएको पनि उहाँले बताउनुभयो । उहाँले बाँसबारीको फाइल बन्द नभएको र टिकापुरको फाइल खुलाउन काम भइरहेको पनि बताउनु भयो ।

मन्त्री लामिछानेले वृहत जनकपुरको ९ हजार बिगाहा जग्गाको फाइल पनि तयार हुने क्रममा रहेको बताउनुभयो ।