१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


यस वर्षको मनसुन प्रणाली देशभर फैलियो


4.615k
Shares

काठमाडौं । यस वर्षको मनसुन प्रणाली सोमबारदेखि देशभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो गरी जेठ २८ गते कोशी प्रदेशको पुर्वी भू–भागमा भित्रिएको थियो ।

यस्तै असार ६ गते कोशी प्रदेशको बाँकी भू–भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा भित्रिएको थियो । यस वर्ष नेपालभर मनसुन फैलिन आगमनको दिन देखि १५ दिनको समय लागेको विभागले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको हो । यससँगै नेपालमा अब पश्चिमी वायुको असर हटेको छ । विभागका अनुसार पश्चिमी वायुले पूर्वी वायुलाई अघि बढ्न नदिँदा मनसुन फैलन समय लागेको हो । मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन भने अझै समय लाग्ने विभागले औँल्याएको छ ।

मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भूभागमा राम्रो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिलेसम्म सुक्खा र गर्मीले आक्रान्त रहेको कर्णाली र सुदूरपश्चिममा मनसुनी बादल छाएपछि त्यस क्षेत्रमा थोरै राहत पुगेको छ । यो वर्ष साउन महिनाको मध्यदेखि मात्र राम्रो मनसुनी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।