
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरुका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो ।
गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमाहरु रहेको बताउदै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरुको माग सम्बोधन गरिने बताउनुभयो । उहाँले मुलुकको वास्तविक अर्थतन्त्रको अवस्थाका आधारमा मौद्रिक नीति तर्जुमा गरिने जानकारी दिनुभयो ।
गभर्नर अधिकारीले राष्ट्र बैंक मुलुकको अर्थतन्त्रको वास्तविक अवस्था भन्दा बाहिर नजाने स्पष्ट पार्नुभयो । उहाँले मौद्रिक नीतिको सिमाभित्र बसेर काम गर्नुपर्ने भएकाले निजी क्षेत्रले पनि बुझ्न आवश्यक रहेको बताउनुभयो ।
गभर्नर अधिकारीले ऋण लिन जाँदा कुनैपनि बैंकका कर्मचारीहरुले कमिसन मागेको थाहा पाइए तत्काल कारवाही गर्ने बताउनुभयो । बैंकका कर्मचारीहरुले कमिसन माग्ने गरेको भन्ने गुनासो सुन्नसाथ ऋणीसँग खाता लिङ्क देखिएका कर्मचारीहरुमाथि कारवाही गरिएको बताउनुभयो ।
कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बैंकहरुमा रहेको ६ अर्ब लगानीयोग्य रकमलाई बजारमा लैजान आर्थिक नीतिमार्फत सरकारले सहज गर्ने बताउनुभयो । उहाँले सरकारले पारदर्शी रुपमा नै बजारलाई चलायमान बनाउने लक्ष्य राखेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्