
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट सन्यास लिने बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति गुरुङले यस्तो बताउनुभएको हो ।
उपसभापति गुरुङले हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरु कम हुने बताउनुभयो । उहाँले भ्रष्ट प्रवृत्तिका मान्छेहरुलाई खादा र माला लगाएर काँग्रेस र देश उन्नतितर्फ बढ्न नसक्ने जिकिर गर्नुभयो ।
उपसभापति गुरुङले वडा अध्यक्षदेखि मन्त्री र प्रधानमन्त्री सबैको सम्पती छानबिन हुनुपर्ने बताउनुभयो । उहाँले कहीँ कतै कसैले औंला ठड्याउने ठाउँ नराख्ने गरी देश चलाउन आवश्यक रहेको बताउनुभयो ।
उपसभापति गुरुङले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा भइरहेको बताउनुभयो । उहाँले पदका लागि मात्रै सहअस्तित्व स्वीकार्ने र समन्वय गर्ने काम हुनु नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्