२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका विश्वकपको फाइनलमा


2.119k
Shares

काठमाडौं । दक्षिण अफ्रिका टी–२० विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

अफगानिस्तानले दिएको केवल ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको थियो । दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले २९ र एडेन मार्क्रमले २३ रन जोडे । दक्षिण अफ्रिका सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन जोड्यो । अफगानिस्तानलाई अलआउट गर्न मार्को जान्सेन र तब्राइज साम्सीले ३÷३ तथा कागिसो रबडा र एनरिच नोर्त्याले २÷२ विकेट लिए । २८ रन जोड्दा ६ विकेट गुमाएको अफगानिस्तानले त्यसपछि २२ रनको साझेदारी गरेको थियो ।

अफगानिस्तानका १० जना ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाए । रहमनुल्लाह गुर्बाजले खाता खोल्न सकेनन् भने अर्का ओपनर इब्राहिम जद्रानले २ रन बनाए । गुल्बादिन नैबले ९ रन जोडे भने मोहम्मद नाबीले खाता खोल्न सकेनन् । अफगानिस्तानले अब इंग्ल्याण्ड र भारतबीचको विजेतासँग फाइनल खेल्नेछ ।