
काठमाडौं । प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले विपद्मा परेका नागरिकको उद्धार र पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले मनसुनको शुरुवाती चरणमै देशका विभिन्न ठाउँमा धनजनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले विराटनगर डुबानमा परेका कारण जनजिवन प्रभावित भएको भन्दै डुबानमा परेका नागरिकलाई उद्धार गर्न माग गर्नुभयो । उहाँले सरकारले ठूला–ठूला कुरा गरेर मात्रै नहुने भन्दै डुबानमा परेका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यस्तै प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले ताप्लेजुङ, ओखलढुङ्गा लगायतका ठाउँमा पोहोर गएको विपद्को क्षतिपूर्ति र राहत आजसम्म नपाएका भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले गृहमन्त्रीले विपद्का फाइलहरु खोलेर जनतालाई राहत दिनुपर्ने बताउनुभयो । उहाँले जनताको पुनःस्थापना गर्ने र जनतालाई राहत दिने फाइलहरु खोल्न गृहमन्त्रीलाई आग्रह गर्नुभयो ।
यस्तै प्रतिनिधि सभा सदस्य किरण शाहले विपद्मा परेर नागरिकको मृत्यु भइरहँदा र बिस्थापित भइरहँदा मन्त्रीहरु भने मिशन ०८४ मा व्यस्त भइरहेको बताउनुभयो । उहाँले मधेश प्रदेशका विभिन्न भू–भागहरु डुबानमा परेका भन्दै उद्धार र राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
आकस्मिक समयमा बोल्ने अन्य सांसदहरुले पनि आ–आफ्नो क्षेत्रमा विपद्का कारण जनधनको क्षति भएको भन्दै राहत, उद्धार तथा पुनःस्थापनाको माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्