
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।
शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।
सांसद झाले नेपालमा २० वटा संरक्षित क्षेत्र रहेपनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताउनुभयो । उहाँले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गर्नुभयो । त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भुमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रुपमा बजेट विनियोजनको गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्