३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न दबाब दिँदै पत्रकार महासंघमा नाराबाजी


247
Shares

काठमाडौं । निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न दबाब दिँदै नेपाल पत्रकार महासंघमा नाराबाजीसहितको प्रर्दशन गरिएको छ ।

नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनका लागि शनिबार मनोनयन दर्ता गर्ने कार्यक्रम अघि नबढेपछि अध्यक्ष विपुल पोखरेलको राजीनामा माग गर्दै प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, नेपाल लगायतका पत्रकारहरुको संघ, संगठनले काठमाडौंको सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयमा बिरोध प्रदर्शन गरेका हुन् ।

महासंघले निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारहरुले मनोनयन गर्ने कार्यतालिका थियो । तर कांग्रेस निकट प्रेस युनियन नेपालले सदस्यता नविकरणमा असहमती जनाउँदै महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेपछि प्रेस चौतारी नेपाललगायतका संगठनहरुले निर्वाचन प्रक्रियामा तलमाथि नगर्न चेतावनी दिँदै महासंघको नेतृत्वविरुद्ध नाराबाजी गरेको हो ।

उम्मेदवारी दर्ता गर्ने महासंघको हरेक सदस्यको अधिकार सुरक्षित गराउनका लागि आफूहरुले महासंघको नेतृत्वको ध्यानाकर्षण गराएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताउनुभयो । उहाँले निर्वाचन कार्यतालिका अनुसार मनोनयनको काम अघि नबढाएर निर्वाचन समिति र महासंघको नेतृत्व चुनाव हार्ने डरले भागेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । अध्यक्ष बस्नेतले निर्वाचनबाटै निर्वाचित महासंघको अध्यक्ष पोखरेलले निर्वाचनबाट भाग्ने खालको गतिविधि गर्न नहुने पनि बताउनुभयो ।

नेपाल पत्रकार महासंघको निर्वाचन यही असार २२ गते तोकिएको छ । त्यसका लागि असार १५ गते (आज) मनोनयन कार्यतालिका तय गरिएको थियो । तर नेपाल प्रेस युनियनबाट निर्वाचितमहासंघको नेतृत्वको निर्वाचन भाँड्ने काम गरेको प्रेस चौतारी नेपालको आरोप छ । अध्यक्ष गणेश बस्नेतले महासंघलाई वैधानिक रुपमा अघि बढाउन पनि यसको निर्वाचन प्रक्रियालाई अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो ।