२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


आज संसद् दिवस मनाइँदै


130
Shares

काठमाडौँ । आज संसद् दिवस मनाइँदैछ । आजकै दिन देशमा पहिलोपटक जननिर्वाचित संसद्को बैठक बसेको हो । मुलुकमा प्रजातन्त्र स्थापना भएपछि २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक बसेको दिन २०१६ असार १६ गतेलाई संसद् दिवसका रूपमा मनाउन थालिएको हो ।

देशमा संसद्को पहिलो बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज संघीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उहाँ २०१७ साल पुस १ गतेसम्म सभामुखको पदमा क्रियाशील हुनुहुन्थ्यो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद् भंग भएको थियो ।