
शुरज थपलिया
काठमाडौं । नुवाकोटका स्थानीय तहको ३० करोड बढी बेरुजु देखिएको छ । महालेखापरीक्षकको आर्थिक वर्ष २०७९/८० को स्थानीय तहको प्रतिवेदन अनुसार ३० करोड ७७ लाख ८४ हजार ५ सय ४ रुपैयाँ ९ पैसा बेरुजु देखिएको हो । बेरुजु देखिएको रकममध्ये करिब आधा अर्थात् १५ करोड बढी अनियमितता भएको देखिएको प्रतिवेदनमा उल्लेख छ । दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटका स्थानीय तहहरुले १५ करोड ५५ लाख ७८ हजार चार सय ५१ रुपैयाँ तीन पैसा अनियमितता गरेका छन् ।
सबैभन्दा बढी बेरुजु र अनियमितता बेलकोटगढी नगरपालिकाको छ । बेलकोटको आर्थिक वर्ष २०७९/८० मा ८ करोड ७७ लाख ६८ हजार ७ सय ७७ रुपैयाँ बेरुजु देखिएको छ । प्रमुख जगत बहादुर गुरुङ रहेको यस नगरपालिकाले ३ करोड १० लाख ५७ हजार १ सय ६२ रुपैयाँ अनियमितता गरेको छ । उनी माओवादी केन्द्रबाट निर्वाचित हुन् । बेलकोटगढीले भ्रमण, बैठक भत्ता, फरक शीर्षकमा खर्च, टुक्रे योजनाहरु एउटै फर्मको नाममा दिएको भुक्तानीलगायत शीर्षकमा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस्तै बेलकोटले बढी रकम भुक्तानी गरेको र असुल गर्नुपर्ने ६९ लाख ७५ हजार १ सय ४८ रुपैयाँ छ । कागजात पुरा नभएर बेरुजु रहेको १० करोड ६५ लाख ८६ हजार ९७ रुपैयाँ देखिएको छ ।
दोस्रो बढी बेरुजु विदुर नगरपालिकाको छ । विदुर नुवाकोटको सदरमुकाम हो । विदुरको ४ करोड ७२ लाख ५६ हजार ७ सय १४ रुपैयाँ २५ पैसा बेरुजु देखिएको छ ।
यस्तै विदुरले २ करोड ३ लाख ९४ हजार ५ सय ९२ रुपैयाँ अनियमितता गरेको छ । असूल गर्नुपर्ने ३३ लाख ८८ हजार ६६ रुपैयाँ ७ पैसा छ । कागजात पुरा नभएको बेरुजु २ करोड ३० लाख ८० हजार ५५ रुपैयाँ ५५ पैसा छ ।
विदुरमा अनियमितताको सूची धेरै छ । तर नेपाल एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहको दरबार निर्माणमा पहल गर्न नगरपालिकाको ध्यान जान सकेको छैन । सो दरबार २०७२ सालको भूकम्पमा परी ध्वस्त भएको थियो । अहिले पनि सो दरबार टेकोकै भरमा अड्याइएको छ ।
यसको निर्माणको जिम्मा चीन सरकारले लिएपनि निर्माण कार्य सुरु भएको छैन । यहाँका प्रमुख राजन श्रेष्ठ छन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
ककनी गाउँपालिकाको बेरुजु ३ करोड ९८ लाख ५९ हजार ३ सय ८६ देखिएको छ । जसमध्ये ककनीले २ करोड २३ लाख ९७ हजार ४ सय ७४ रुपैयाँ अनियमितता गरेको छ ।
नुवाकोटमा अनियमितता गर्नेमा ककनी दोस्रो नम्बरमा हो । ककनीले दरबन्दीबाहेकका कर्मचारी भर्ना, विभिन्न प्रादेशिक कार्यक्रम, भ्रमण, भत्ता लगायतमा अनियमितता गरेको छ । यस्तै असूल गर्नुपर्ने ५० लाख ९७ हजार ७ सय ४४ छ भने कागजात प्रमाण नपुगेको १ करोड ७१ लाख ७८ हजार १ सय ३८ रुपैयाँ छ । यस गाउँपालिकाको प्रमुख सुमन तामाङ छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
तारकेश्वर गाउँपालिकाको बेरुजु १ करोड ६२ लाख ५६ हजार २९ पैसा रहेको छ । तारकेश्वरले ४० लाख ९९ हजार ९ सय ९३ रुपैयाँ अनियमितता गरेको छ । पालिकाले असूल गर्नुपर्ने १६ लाख ८६ हजार ९ सय १९ र कागजात पेस नभएर बेरुजु देखिएको १ करोड १५ लाख ४० हजार ९ सय ११ रुपैयाँ छ । यहाँ नेपाली कांग्रेसबाट निर्वाचित शिव अधिकारी अध्यक्ष छन् । यस्तै तादी गाउँपालिकाको बेरुजु १ करोड ७१ लाख ५२ हजार ५ सय ८५ रुपैयाँ ३५ पैसा छ । पालिकाले १ करोड ७३ लाख १६ हजार ४ सय ८९ अनियमितता गरेको छ ।
१६ लाख ६१ हजार ४ सय ८९ असूल गर्नुपर्ने देखिएको छ भने कागजात प्रमाण नपुगेको बेरुजु ५ करोड ७२ लाख ७१ हजार २ सय २४ रहेको छ । यहाँ सन्तमान सन्तमान तामाङ अध्यक्ष छन् । उनी कांग्रेसबाट निर्वाचित भएका हुन् ।
पालिकाको बेरुजु १ करोड ४८ लाख ३१ हजार १३ रुपैयाँ ८२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । यहाँ तेज बहादुर तामाङ अध्यक्ष छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
म्यागाङ गाउँपालिकाको बेरुजु ५ लाख ६३ हजार ७ सय ७४ रुपैयाँ ३ पैसा छ । अनियमितता २८ लाख ६१ हजार ५ सय ७४ रुपैयाँ छ । ४ लाख ५६ हजार १८ रुपैयाँ ७७ पैसा असूल गर्नुपर्ने देखिन्छ भने ३ लाख ४ हजार ९ सय १३ रुपैयाँ कागजात नपुगेर बेरुजु देखिएको छ । यो पालिकाको अध्यक्ष आशा तामाङ छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित हुन् ।
लिखु गाउँपालिकाको बेरुजु ७० लाख २१ हजार ९ सय १३ रुपैयाँ देखिएको छ । पालिकाले १३ लाख १८ हजार ४ सय ४९ रुपैयाँ अनियमितता गरेको छ । पालिकाले ४१ लाख २७ हजार ४ सय ७१ रुपैयाँ असुल गर्नुपर्ने देखिन्छ । कागजात प्रमाण नपुगेको १४ लाख २७ हजार ४ सय ७१ रुपैयाँ बेरुजु छ । यहाँ नेपाली काँग्रेसबाट निर्वाचित अशोक कुमार कार्की अध्यक्ष छन् ।
किस्पाङ गाउँपालिकाको बेरुजु २ करोड ९ लाख ३४ हजार ९ सय ५३ रुपैयाँ ५ पैसा छ । पालिकाले १ करोड ५४ लाख १६ हजार ८ सय ६५ रुपैयाँ अनियमितता गरेको छ । असूल गर्नुपर्ने रकम ३० लाख ३९ हजार ७७ रुपैयाँ छ भने कागजात पेस नभएको बेरुजु २ करोड ९४ लाख ६० हजार ९ सय ८४ रुपैयाँ १ पैसा छ । यहाँका अध्यक्ष बिरबल तामाङ रहेका छन् ।
दुप्चेश्वर गाउँपालिकाको बेरुजु १ करोड १६ लाख २७ हजार ८ सय ७७ छ । ७९ लाख ७९ हजार ७३ रुपैयाँ ३१ पैसा अनियमितता गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
पालिकाले १ लाख २० हजार ८ सय ४४ रुपैयाँ असूल गर्नुपर्ने देखिन्छ भने कागजात पेस नभएको रकम ७७ लाख ५ हजार ५ सय १८ रहेको छ । यहाँका अध्यक्ष शंकर बहादुर थापा रहेका छन् । उनी माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।
स्थानीय तहका अनियमितताका यी तथ्याकंहरु हेर्दा नुवाकोट भ्रष्टाचारको अखडा बन्दै गएको छ । अनियमितताको ठूलो चाङ छ । नागरिकलाई सहज सेवा प्रदान गर्न बनेका स्थानीयह तहहरु अनियमितता र भ्रष्टाचारले डुङडुङ्ती गन्हाएका छन् । काठमाडौंसँगै जोडिएर पनि नुवाकोटका नागरकिको जीवनस्तर दयनीय छ ।
यहाँका नेताहरु देशको ठूला पदमा पुगे । तर नुवाकोटलाई विकसित बनाउन उनीहरुले भूमिका खेलेनन् । नेताहरुको जिल्लाका रुपमा परिचित नुवाकोट विकासको गतिमा भने धिमा छ । र त काठमाडौँबाट ककनी हुँदै नुवाकोट जाने सडक वर्षौसम्म बन्न सकेन । यो सडकबाट यात्रा गर्नेहरुले हिलो र धुलोको सामना गर्नुपर्छ ।
नेपाललाई एकताबद्ध गर्ने पृथ्वीनारायण शाहको दरबार यही छ । वर्षौ दरबार देखाएर सरकारले कर उठायो । जनताबाट रकम असुल गर्यो । तर आज दरबार पुर्ननिर्माण गर्नुपर्ने समयमा सरकार कानमा तेल हालेर बसेको छ ।
भूकम्पमा क्षति पुगेको दरबार एक दशकसम्म बनेन् । सिंहदरबार नुवाकोट दरबारको अवस्था हेर्न चाहदैन्, पुकार सुन्न चाहदैन् । एउटा दरबार अर्को दरबारको दुरावस्था हेरेर बसेको छ । त्यसका ऐतिहासिक महत्वलाई भुलेको छ ।
राम्रो विद्यालय र कलेज नहुँदा यहाँका ८० प्रतिशत विद्यार्थीहरु पढ्न काठमाडौँ नै आउनुपर्ने बाध्यता छ । बाँकी २० प्रतिशत गरीबका छोराछोरी सरकारी विद्यालयमा पढ्न बाध्य छन् ।
राम्रो विद्यालय र विश्वविद्यालय खोलेर बसाइसराइ रोक्ने तर्फ कोही कसैले पहल गरेन । तीनै तहका सरकार कानमा तेल हालेर बसेका छन् । त्यसैले त बिस्तारै गाउँहरु युवाविहीन भएका छन् । रितिएका छन् ।
नुवाकोट हुँदै त्रिशुली खोला बग्छ । तर यहाँका किसानहरु सिचाईंको सुविधाबाट वञ्चित छन् । सिचाईंको सुविधा नहुँदा सोचेजस्तो उत्पादन हुन सक्दैन । त्रिशुलीमा सिचाईको सुविधा छैन भन्दा मानिसहरु अचम्म मान्छन् । तर यहाँको वास्तविकता यहीँ नै हो ।
नेपालको ठूलो जेल नुवाकोटमा बन्दै छ । त्यसको सट्टा एउटा राम्रो अस्पताल वा विश्वविद्यालय भएको भए यहाँका मानिसहरु लाभान्वित हुने थिए । जेल बनाउन पहल गर्ने सहजीकरण गर्ने नेताहरु विद्यालय र अस्पतालको आवश्यकता नै ठान्दैनन् ।
घर नुवाकोट भन्दा मान्छे नाक खुम्च्याउँछन् । किनकी यसको पहिचान अर्कै रुपमा हुँदै आएको छ । यसको पुरानो पहिचान बदलेर नयाँ बनाउने तर्फ कोही लागेको पाइन्न ।
नेताहरु चुनाव अघि मात्रै देखिन्छन् । चुनाव जितेपछि अर्को पाँच वर्ष देख्न मुश्किल छ । जनताका प्रतिनिधि जनतासँग कनेक्ट नहुँदा जनताका समस्या, दुख पीर उस्तै छ ।
भ्रष्टाचार र अनियमितता नभएको भए काठमाडौँ सँगैको जिल्ला भक्तपुर र ललितपुर जस्तै नुवाकोट पनि विकसित हुने थियो । तर जनतालाई थाहै नदिइ गरेको कागजी विकासले कुन दिन नुवाकोटलाई सोमालियाको उपमा नआउँला भन्न सकिन्न । सोमालिया विश्वको गरीब मुलुक हो ।
प्रतिक्रिया दिनुहोस्