३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेस र एमालेबीचको सहमतिपछि विकसित राजनीतिबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाउनुभएको छ ।

नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न अहिले बिहान बालुवाटारमा पदाधिकारी बैठक बोलाइएको हो ।

कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा राजीनामा दिने कि विश्वासको मत लिने भन्नेबारेमा नै छलफल हुने बताइएको छ । दुई ठूला दल मिलेपछि वैकल्पिक सरकार गठनको सम्भावना नरहेकाले राजीनामा दिएर राजनीतिक कदम चाल्न उपयुक्त हुने सुझाव केही नेताले दिएका छन् ।

विकसित राजनीतिको बारेमा बैठकमा छलफलपछि प्रधानमन्त्रीले उपयुक्त कदम चाल्ने माओवादी केन्द्रका सचिव गणेश साहले बताउनुभयो । राजीनामा दिएमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । नत्र एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारमाथिको समर्थन फिर्ता लिनुपर्नेछ । त्यसो गर्दा प्रधानमन्त्री दाहालले एक महिनाभित्र विश्वासको मत लिन पाउने सुविधा संविधानले दिएको छ । तर कांग्रेस र एमाले मिलेको अवस्थामा विश्वासको मत लिने प्रक्रियामा जानु राजनीतिक रुपमा सत्तालिप्सामात्र देखिने भएकाले दाहालले त्यो बाटो नलिने अनुमान नेताहरुको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक पनि बस्दै छ । रास्वपाको बैठक पनि अहिले ९ बजे संसदीय दलको कार्यालयमा बस्ने छ । बैठकमा बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल हुने रास्वापाले जनाएको छ । कांग्रेस र एमाले सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।