२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


एमाले-कांग्रेस मिलेर सरकार बनाउने कुरा संवैधानिक छैन : माओवादी


5.018k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस-एमाले मिलेर सरकार बनाउने कुरा संवैधानिक नभएको जिकिर गर्नुभएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता सापकोटाले यस्तो बताउनुभएको हो ।

प्रवक्ता सापकोटाले दुई दलबीचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर काँग्रेस र एमालेबीच सहमति नभएको बताउनुभयो । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उहाँको थियो । काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई के लागेको छ भने अप्रत्याशित रुपमा जुन खालको घटनाक्रमहरु अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन । देशका पहिलो र दोस्रो ठूलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने संकेत देखापरेको छ । यो बेठिक छ ।’

प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा सरकारले राम्रोसँग काम गरेको दाबी गर्नुभयो ।