८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


प्रधानमन्त्री दाहालले तत्काल राजीनामा नदिने, विश्वासको मत लिने तयारी


3.744k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिनु नहुने भएको छ ।

कांग्रेस-एमालेबीच नयाँ सत्ता समिकरण बनेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले संसदको सामना गरेर विश्वासको मत दिने धारणा राख्नुभएको हो ।

यता बैठकमा पार्टी नेताहरुले पनि एक मतले त्यसै गलेर छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए । संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनुभएको र पार्टीको तर्फबाट पनि सबै नेताहरुले एकमतले विश्वासको मतको सामना गर्न र त्यसका लागि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, काँग्रेस र एमालेसँग पनि अहिले सहमती भएपनि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने निर्णय भएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका नेताहरुले दुई दलबीच सरकार बनाउने सहमती गर्ने र त्यसपछि राष्ट्रिय सहमतीको सरकार बनाउने भन्नेकुरा राजनीतिक रुपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । त्यसैले गरी बैठकले काँग्रेस–एमाले सत्ता समिकरणले संविधान संशोधन गर्ने सहमती गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ ।

बैठकमा नेताहरुले काँग्रेस, एमालेका केही नेताहरुसँग छलफल गरेर विश्वासको मत लिन सम्पूर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।