
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको निलम्बन माग गरिएको रिटमा आज सुनुवाइ हुने भएको छ ।
यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट त्यसपछि हेर्दा हेर्दैमा राखिएको छ । यही इजलासले टुंग्याउने गरी सुनुवाइ अघि बढेको लामिछानेको रिटमा आज जवाफी बहस मात्र हुनेछ ।
आज अधिवक्ताहरुले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि निलम्बन हुने अथवा नहुने आजै आदेश आउन सक्नेछ ।
कास्कीमा सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई क्लिनचिट दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गर्नुभएको थियो ।
जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गरि सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले दरपिठ खारेज गरेपछि जेठ १४ मा रिट दायर भएको थियो ।
प्रतिक्रिया दिनुहोस्