
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका चार मन्त्रीहरुले आज राजीनामा दिने भएका छन् ।
सरकारमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिने भएका हुन् ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आजै मन्त्रीहरुले राजीनामा बुझाउने जानकारी दिनुभयो ।
नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेपछि पुष्पकमल दाहालको सरकार अल्पमतमा परेको छ । दाहाल नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।
रास्वपाको दुई दिनअघि बसेको पदाधिकारी बैठकले कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो । सम्भवत आजै सबै मन्त्रीहरुले राजीनामा बुझाउने प्रमुख सचेतक परियारले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्