२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मुकुल ढकालको प्रतिवेदन सार्वजनिक


1.807k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा हलचल ल्याएको महामन्त्री मुकुल ढकालको प्रतिवेदन सार्वजनिक भएको छ ।

महामन्त्री ढकाललाई सात दिनका लागि निलम्वन गरेको भोलिपल्ट उहाँले देश दौडाह गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेलाई रास्वपा कार्यकर्ता र सर्वसाधारण मतदाताले सोधेका थुप्रै प्रश्नहरु समावेश रहेका छन् । प्रतिवेदनमा सभापति रवि लामिछानेको विगत र वर्तमानसँग जोडिएका थुप्रै प्रश्नहरु रहेका छन् ।

यस्तै लामिछानेको कार्यशैलीमाथि पनि ब्यापक प्रश्नहरु सोधिएका छन् । चेसमा रानी धेरै चल्दैन, तर रास्वपा किन सभापति नै धेरै चलेको ? भन्नेदेखि रवि लामिछाने किन आफैं गृहमन्त्री हुनुपरेको भन्नेसम्मका प्रश्नहरु सोधिएका छन् । यस्तै सहकारी ठगीमा रविको संलग्नताको प्रश्नदेखि जिबि राई कहिले समातिन्छन् भन्नेसम्मका प्रश्नहरु पनि रास्वपा कार्यकताबाटै सोधिएको प्रतिवेदनमा उल्लेख छ ।

कार्यकर्ताले रास्वपा सभापति रवि लामिछानेलाई भेट्नभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न सजिलो होला भन्ने गुनासो समेत गरेका छन् । रास्वपा सरकारमा गएर कुनै काम गर्न नसकेको, निर्मला पन्तका दोषी नसमातिएको, चितवनको ब्लु बस र रोजगारीका कुरा के भयो ?, सिधाकुरा जनतासँग कार्यक्रममा बोलेका कुरा जनताले सम्झिराखेको तर लामिछानेले विर्सिएको जस्ता गुनासो पनि प्रतिवेदनमा समावेश रहेका छन् ।