२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


सुन, नगद र सुन गाल्ने मसिनसहित पाँच जना पक्राउ


871
Shares

काठमाडौं । प्रहरीले भारतीय नागरिकहरुले संचालन गर्दै आएको सुन गाल्ने कार्खानामा छापा मारी सुन र सुन गाल्ने मेसिनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

ललितपुरको ताल्छीखेलमा बस्दै आएका भारत, महाराष्ट्रका २८ वर्षिय युवराज विभुतेको फ्ल्याटमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरु युवराज विभुते, बिक्रम यलवर पक्राउ र अभिषेख विभुते रहेका छन् । यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवा घर भएका सिद्धान्त चौलागाईं र ललितपुरको महालक्ष्मी नगरपालिका–८ का यसवन्त सुनार पनि पक्राउ परेका छन् ।

उक्त स्थानबाट प्रहरीले १६९ ग्राम ९७० मिलिग्राम सुन, २४७ ग्राम २५० मिलिग्राम चाँदी, ५० लाख ४ हजार ७३० रुपैयाँ नगद, डिजिटल तराजु, हार्ड डिस्क, सुन पगाल्ने मेसिन, बैंकमा नगद जम्मा गरेको भौचरलगायत बरामद गरेको छ । ललितपुर महानगरपालिका–१४ को एक निर्माणाधीन घरमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना पाएको आधारमा सातदोबाटो प्रहरी वृत्तको टोलीले छापा मारेको थियो ।

पक्राउ परेका ब्यक्तिहरु र उनीहरूबाट बरामद नगद तथा सामग्री राजस्व अनुसन्धान विभागमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ परेको गिरोहले दिएको बयानको आधारमा काठमाडौं बसुन्धाराबाट भारतीय नागरिक नवराज खिलारीलाई एक किलो सुनसहित पक्राउ गरिएको ललितपुर प्रहरीका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिनुभएको छ ।