२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै


0
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनु हुनेछ । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु हुने कार्यसूची रहेको छ ।

यसैगरि पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेश गर्नुहुनेछ भने प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तीसौं वार्षिक प्रतिवेदन आ.व. २०७९÷२०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै सवा ११ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, आर्थिक विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, भन्सार महशुल विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, भन्सार महशुल विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची रहेको छ ।