
काठमाडौं । लगातार भएको वर्षाले आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बनेको छ ।
आइतबार राती कैलालीको भजनीमा बाढी बस्तीमा पसेपछि त्यहाँका केही परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई पालिका र स्थानीयको सहयोगमा रातीनै हुलाकी सडक र अग्ला भवनमा सारिएको छ ।
नदी तथा खोलामा पानी बढेपछि राती बस्तीका बासिन्दा बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं. ८ का सबै घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
बाढीले कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ । चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सहत बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेको बताइएको छ ।
टीकापुर नगरपालिकामा पनि केही परिवार विस्थापित भएका छन् । पथरैया नदीमा आएको बाढीले वडा नं. ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ जनाइएको छ ।
कर्णाली नदीमा पानीको सहत बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्छन् ।
त्यसैगरि जोशीपुर गाउँपालिकामा पनि लगातारको वर्षापछि जलमग्न भएको छ । जोशीपुर गाउँपालिका विपद् व्यवस्थापन शाखा प्रमुख सीता सिंहले भित्तरीयामा काडा नदीको पानी पसेर डुबान भएकोे बताउनुभयो ।
जानकीका अधिकांश वडाहरु पनि जलमग्न भएका छन् भने केही घरपरिवार विस्थापित भएका छन् । वडा नं ४ र ७ का धेरै बस्ती डुबानमा परेका छन् ।
वर्षाका कारण जिल्लाका विभिन्न स्थान जलमग्न भएको र क्षति न्यूनीकरण गर्ने गरी टिम परिचालन गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । कर्णाली, र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको पनि बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्