
काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भएपनि संविधानमा प्वाल खोजेर बसिरहेको बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीले नयाँ सरकार बन्न नदिनका लागि संविधानमा प्वाल खोजिरहेको बताउनुभयो ।
सांसद गैरेले प्रधानमन्त्रीले नयाँ बन्ने सरकारलाई अस्थिरता, विभाजन र बेथितितिर लैजान सकिन्छ कि भनेर प्रयास गरिरहेको पनि बताउनुभयो । उहाँले बहुमत गुमाएपछि सरकारमा एक सेकेण्ड बस्न पनि नैतिक आधार नरहने भन्दै कुनै धारा वा उपधारा नखोज्न आग्रह गर्नुभयो ।
सांसद गैरेले भन्नुभयो– ‘देशमा उत्पन्न भएका समस्या समाधान गर्नका लागि, लोकतान्त्रिक शासन व्यवस्थामा सरकार अल्पमतमा परिसकेपछि, सरकारले बहुमत गुमाएपछि कुनै धारा, उपधारा खोज्नुपर्ने कुनै कारण छैन । त्यो भनेको नैतिक रुपले सरकार लोकतान्त्रिक प्रणालीमा बहुमत गुमाएपछि एक मिनेट होइन । सेकेण्डपनि बस्ने कुरा नैतिक आधार रहदैन । त्यसकारणले देशमा आइपरेको विपतको बेलामा, संकटको बेलामा तत्काल नयाँ सरकार बनाएर समस्या समाधान गर्ने प्रक्रियामा अगाडी बढ्न सहजता प्रदान गर्नु राम्रो हुन्छ ।’
सांसद गैरेले सरकारले विपद् प्रतिकार्यका लागि बनाएको कुनैपनि योजनाहरु कामयावी हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्