
–सन्जिव कार्की
निर्मला तिम्रो हत्या ती मान्छेहरुले गरेका हुन जो तिमी माथि भएको अत्याचार, तिमी माथिको खुन खराबी र बलात्कार जस्तो जघन्य अपराध हुँदा ज्यान नै बीभत्स तवरले हरिदा पनि यो मेरो समस्या होइन भनेर आज पर्यन्त चुपचाप छन् । बोल्नेहरु अझै बोल्दैनन् । जो सत्ताको तावेदारीमा लिप्त भएर तिमी माथि भएको अत्याचार आखा चिम्लेर बसेका छन । वास्तविक हत्यारा तिनै हुन जो यो घटना प्रति बेखबर छन् । मैले बोल्न सकिन भने म पनि हत्याको मतियार हुनेवाला छु त्यसैले म बोल्छु । मेरो आवाजलाई सत्ता विरुद्धको आवाज भनेर बुझ्ने हत्यारा हुन् । यो देशको सरकार हत्यारा हो, बलात्कारी हो । जसले आज ५२ दिनसम्म पनि निरपराधलाई हत्यारा देखाएर वास्तविक हत्यारा खोज्न सकिरहेको छैन ।
खै कहाँ गए हरियो डलरको खेती गर्ने फेमिनिस्टहरु ? महिलाको हक, इज्जत र सम्मानको कुरा गरेर नथाक्ने ठुला महिला अधिकारकर्मी किन चुप छन ? किन सावित्री सुबेदीहरु मात्रै पेटीकोट जुलुस निकाल्छ्न । खै उनीहरूको सपोर्टमा महिला अधिकारबादीको जुलुस, समर्थन र धर्ना ? खै सचेत पुरुषहरुको खबरदारी ? आफुलाइ नपरेसम्म आफुलाइ नदुखेसम्म किन पोल्दैन अरुको पीडाले मान्छेलाई ? निर्मलाको पिडा अनुभुत गर्न उनका बाबु–आमा र केही छर छिमेक र कंचनपुरवासी या पश्चिम् र सुदुर पश्चिमवासी मात्रै हुनुपर्छ र ? किन यो देशलाई पोल्दैन नाबालिका बलात्कार हुदा ? हत्या र हिंसाको चपेटामा पर्दा । के अब पनि उसकै छोरी तरुनी हाम्लाइ के को दोष भनेर बस्ने ? निर्मलाको शरीर के गिद्दले लुछ्ने सिनो हो, गिद्द्को चारो हो ? जतिबेला जसरी लुट्न मिल्ने ? झम्टन सकिने ? के यो प्रकृतिमा यो धर्तीम योनी लिएर जन्मनु उनको दोष हो ? योनीकै बाटो भएर आउनेहरु किन योनी प्रति नै यति हिंस्रक र अराजक हुन सकेका होलान् ?
बलात्कार आफैंमा जघन्य अपराध हो । मानव सभ्यताकै कलंक हो । झन् नाबालक, बच्चा जो यौनजनित क्रियाकलाप बारेमा अनभिज्ञ हुन्छ्न । त्यस्ता प्रति जबरजस्ती करणी जस्तो महा अपराध के हुन सक्छ ? कहिल्यै र कसैगरी कुनै पनि मानेमा क्षमा दिन नमिल्ने अपराध हो बलात्कार । अझ बलात्कार पछी हत्या जो क्रूरताको पराकाष्ठा हो । किन यति क्रूर र अक्षम्य अपराध प्रति मान्छे बेखबर हुन्छ । अनि किन खबर भएर पनि यसको ढाकछोप र बचाउको लागि मरिमेट्छ । अझ एउटा महाअपराध ढाकछोप गर्न सिङ्गो राज्य संयन्त्र ज्यान फालेर लाग्छ । अहिले किशोरी निर्मला पन्तको हत्यारा बचाउन प्रहरी प्रशासन र शक्तिशाली राज्यको गृह मन्त्रालय लागेको देख्दा ताज्जुब नलागेको कसलाई होला ? अपराधी बचाउन निरपराध मान्छे प्रति प्रहरीको ज्यादती सुन्दा सबैका आँखा भिज्छन अनि चिच्याएर भन्न मन लाग्छ ‘न्याय मरेकै हो त ?’ न्याय शक्तिशाली मान्छे र ब्यक्तिको लागि मात्र हो ? निरीह नागरिक, निशस्त्र नागरिकको न्याय माग्ने हकका विरुद्ध प्रहरी ज्यादती, गोली र अङ्गभङ्हुने बल प्रयोग मात्र हो ? न्याय माग्नेको भागमा गोली दागेर कस्तो समृद्धिको ढोका खोल्न लागेको हो सरकार ? कि निर्मलालाई न्याय दिंदा तिम्रो समृद्धिको बाटो छेकिन्छ सरकार ? मनमा हरी नभएकाहरु प्रहरी हुन्छ्न कसरी ?
एक जना दोषी उम्काएर सयजना निरपराधलाई दोषी करार गर्न सजायको भागिदार किन बनाइन्छ ? कति घीन लाग्दो हर्कत गर्दैछ कंचनपुर प्रहरी ? कंचनपुरमा न्याय, सेवा सुरक्षा र राज्यको उपस्थिति ज्यादतीको लागि मात्रै हो ? निरपराधलाई गोली ठोक्न र न्याय मरेको घोषणा गर्न मात्र राज्य संयन्त्रको उपस्थित कंचनपुरमा छ , भनेर बुझ्ने स्थिति बन्यो भने राज्यको एउटा अङ्ग् प्यारालाइसिस भएकै हो त ? कंचनपुरको जिल्ला प्रसाशन, प्रहरी प्रशासन निकम्मा हुनुको अर्थ अब राज्यको यो निकाय फेल हुन लागेको या फेल नै भै सकेको निष्कर्ष निस्कँदा केन्द्रिय सरकार लाजको अभावमा निर्वस्त्र देखिन्छ । यतिका दिन बित्दा, यति चर्को संघर्ष हुँदा पनि राज्यको निकाय सत्यतथ्यलाई पर्दा भित्र राखेर ‘डमी अपराधी’ बनाउन उद्दत छ ।
संसदको रोस्ट्रममा उभिएर गृहमन्त्री झुठ बोल्छ्न । अपराधी , हत्यारा पत्तालागि सक्यो तर जनता विश्वास गर्दैनन् एक मानसिक बिरामी देखाएर तथ्य लुकाउन पाइदैन भनेर आन्दोलन गर्छन, रकार दमन गर्छ । मान्छे मारिन्छ्न अंग भंग र घाइते बनाइन्छ्न तर पनि हत्यारा वास्तविक हत्यारा पत्ता लाग्दैन आरोपित दिलिप बिष्टको डिएनए नेगेटिभ देखिन्छ र पनि सरकारले नैतिकता देखाउँदैन गल्ती स्वीकार गर्दैन । लज्जास्पद अभिव्यक्ति सरकार सम्बद्ध मन्त्री र दोश्रो दर्जाका अध्यक्ष बोल्छ्न । आन्दोलन सरकार गिराउने षडयन्त्रको कडी बन्दैछ । हैन जनताको न्यायिक आवाज र आन्दोलनलाई किन तुच्छ स्वार्थको सत्ताको स्वादसग दाज्नु हुन्छ महाशय ?
कुनै एलिएन त हैन निर्मलाको हत्यारा ? हाम्रो धन, मान ,ज्यान र इज्जत बचाउने कसम खाएर सेवा प्रवेश गरेको प्रहरी किन यति लाचार हुदैछ । किन उसलाई उसको कसमले झस्काउँदैन ,पोल्दैन, पिरोल्दैन ? निर्मला पन्त कुनै प्रहरी अधिकारी कि छोरी भएको भए यस्तै तुर्लुङ निर्लज्ज हर्कत गर्थ्यो होला प्रहरी ? जनताले अब को माथि भरोसा गर्ने ? कसले न्याय दिन्छ भनेर गुहार्ने ? ‘सत्य सेवा सुरक्षा’को कसम खाएर जनताको करले चल्ने निकाय कसैलाई जोगाउन कसैलाई फसाउन लागि पर्दा कसको दिल दुख्दैन कसलाई चिन्ता लाग्दैन आफ्नो सन्ततिको ?
बलात्कार पश्चात् हत्या भएको कंचनपुर घटनाबारे विभिन्न छानबिन समितिहरु बनाइएका छन् र छानबिन तिव्र रूपमा भइरहेको छ । तर अपराधीलाइ समात्न होइन जोगाउनका निम्ति । अपराधीलाई कानुनी कठघरामा उभ्याउन हैन उन्मुक्ति दिन र अर्को अपराध तर्फ उन्मुख गराउन झै देखिन्छ । किन यस्तो अविश्वनिय कार्य गर्दैछ प्रहरी प्रशासन ? सफेद झुठ बोलेर जनतालाई किन रनभुल्लमा राख्ने कोसिस गर्दैछ ? पर्दा भित्रको अन्तर्य के हो ? जनतालाई कति दिन गुमराहमा राख्ने र ज्यादती गर्ने क्षमता राख्नु हुन्छ महोदय ? जनता जुरुक्क उठेको दिनको कल्पना गर्नु भएको छ ?
सरकार र प्रशासन फरक कुरा हो । सरकार र स्थानीय प्रशासन अनि प्रहरी प्रशासन बीच सन्तुलन, तालमेल र ग्याप भएकोले यस्तो भएको हो । सरकार त यो घटनाप्रति अति संबेदनसिल छ भन्ने नकचरा तर्क पनि देख्न र सुन्न पाइन्छ । यति तल गिरेर सरकारको बचाव गर्नेले शायद मानवीयता भुलेर केवल सत्ताको तलुवा चाटन मात्रै आफ्नो ध्यान केन्द्रित गरेको देख्दा कति दुख लाग्छ । किन यति निर्घनी बन्छन् मान्छेहरु ? महिला अस्मिता र न्यायको आवाज अराजक हो, सरकार विरुद्धको आन्दोलन हो भनेर बुझ्न कुन गिदीले सघायो होला ? कंचनपुर छोडेर न्याय माग्न निर्मला र उनका सहयोगी सिंहदरबार आउँदा त्यहांको प्रमुख जिल्ला अधिकारी लज्जित बन्नु पर्दैन ? कति दिनको धैर्यता पछी उनीहरू काठमाडौं आए ? के काठमाडौं आउनु उनीहरुको रहर हो या बिज्ञापन ? देश विधि र बिधानले चलेको छैन चलेको छ त सनक लहड र छलछामले त्यसैले यस्तो देशमा सजिलै न्यायको दरबाजा खुल्दैन ,अपेक्षित हुदैन । सरकार सर्वसाधारण खोज्दैछन । यि प्रश्नको उत्तर देउ,ठिएनउ टेस्ट गर्नै पर्दैन
-भए भरका प्रमाण किन नष्ट गराईयो ?
-प्रहरी निरीक्षकले कुन प्रयोजनले बालिकाको सुरुवाल धुन र रक्तश्राव देखिएको योनी पुछ्न लगाए ?
-हत्याराको सुईंको नपाई लास जलाऊन किन हतार गरियो ?
-होटलको सीसी टिभी इमेज कसले र किन हटाउन लगायो ?
-बम दिदी बहिनीको घरमा पस्न किन दिईएन ?
-अनुसन्धानमा सम्लग्न बिरेन्द्र केसीलाई ज्यान हर्ने धम्की दिने को हो ?
दक्षिण एसियाको तेस्रो ठूलो पार्टी नेकपा र देशको इतिहासमै सबैभन्दा शक्तिशाली सरकार हुँदा पनि एउटा बलात्कारी समाउन यत्रो धौ धौ ? छि लाज लाग्यो सरकार ! एकछिन अन्तर आत्माबाट साँच्चै सोचौँ त, के तपाईलाई लाग्छ हामी बलियो सरकार भएको देशमा बलियो सुरक्षाभित्र बाँचिरहेका छौ ? पीडितले दुई महिनासम्म पनि न्याय नपाउने र न्यायको लागि आवाज उठाउँदा गोली उपहार दिने सरकार भएको देशका जनता साँच्चै सुरक्षित रहन सक्लान् ? दिन दिनै बढ्दै गहिरहेको हत्या, बलात्कार र तस्करका हौसला पाउँदै गरेका हत्यारा, बलात्कारी, तस्करीलाई जोगाउने काम सरकार पक्षबाट भै रहेको छ । घटनाक्रमले यस्तै बोल्छ ।
जनताको आवाज ,मानबको आवाज र निर्मलाका बुबा–आमाको आवाज सुन्ने तर दुःख नबुझ्ने त पशु हुन । किन पशुता देखाउदै छ सरकार ? एक पक्षीय मानव अधिकार, महिला अधिकार र महिला अस्मिताको पक्षमा मात्र प्रधानमन्त्री कडकिन्छ्न ? प्रधानमन्त्री सबैको होइनन् र हुन नसकेको उदाहरण क्रमशः दिदैछन ।
निर्मला तिमीले, संसारकै सबैभन्दा चरम हिंसा र अत्याचार भोगेर कथित क्रान्तिकारी र लोकतान्त्रिकहरूको वास्तविक अनुहार उघारी दियौ ! शक्ति र सत्ताको खोपीमा लिप्त खलनायकहरू आफ्नो लाज कसरी छोप्लान ? के अब यिनलाई भोली जनताको दैलोमा जानू पर्दैन ? निर्मला जस्ता पीडितको न्याय मारेर कस्तो शान्ति र समृद्धिको यात्रा तय हुदैछ । कतै निर्मलालाई न्याय दिंदा तपाईको शान्ति र समृद्धिको यात्रामा रोकावट आउने त हैन, प्रधानमन्त्री ज्यु ?
प्रतिक्रिया दिनुहोस्