
पर्वत । निरन्तरको वर्षाका कारण ठाउँठाउँमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध बनेको छ ।
पर्वतको कुश्मा नगरपालिका– १ सहस्रधारामा भिरवाट खसेको ठुलो पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो । सहस्रधारामा दुई ठाउँमा पहिरो खसेको र उक्त पहिरो पन्छाउन तीन÷चार घण्टा समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
प्रहरीका अनुसार कुश्मा नगरपालिकाकै तमादीखोला, चुवा र दोविल्लामा पनि सडक अवरुद्ध भएको छ । चुवामा मंगलवार रातीनै सडक भासिएर अवरुद्ध भएकोमा बुधवार दिउँसो मर्मतपछि पुनः संचालनमा आएको भएपनि फेरी गएरातीको वर्षाले अवरुद्ध भएको र खुलाउने प्रयास जारी रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सिताराम ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार कुश्मा नगरपालिका– ४ स्थित गुप्तेश्वर क्याम्पस नजिकैपनि पहिरोले सडक अवरुद्ध बनेको छ ।
त्यस्तै ओढोरे, भ्याप्ले लगायतका ठाउँमा सडकमा आएको लेदो र गेगर पनि वर्षा रोकिएलगत्तै पन्छाउन थालेको ओझाले बताउनुभयो । रातीदेखिनै सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारी साधनहरु अलपत्र परेका छन् ।
गएराती परेको अत्याधिक ठुलो वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोरको पर्वत खण्ड पनि ठाउँठाउँमा अवरुद्ध बनेको छ भने लुंखु–हुवास सडक, दोविल्ला–सिल्मी–ठुलीपोखरी सडक, फलेवास नगरपालिका, मोदी गाउँपालिका र महाशिला गाउँपालिकाअन्तर्गतका विभिन्न सडकहरु अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी प्रमुख ओझाले यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्