१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वर्तमान सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६(३) को सरकार बन्छ भनेर भ्रम सिर्जना गरियो : महेश बर्तौला


3.861k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाए संविधानको कुन धारा अनुसार नयाँ सरकार गठन हुन्छ भन्नेमा राजनीतिक दलहरुले आ–आफ्नै दाबी प्रश्तुत गरिरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि संसदबाट विश्वासको मत लिँदैहुनुहुन्छ ।

प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएको अवस्थामा राष्ट्रपतिले नयाँ प्रधानमन्त्री संविधानको कुन धारा अनुसार नियुक्त गर्नेछन् भन्नेमा सर्वत्र चासो र बहसहरु भइरहेका छन् । वर्तमान प्रधानमन्त्री संविधानको धारा ७६(२) बमोजिम नियुक्त हुनुभएको र उहाँले विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) मा जाने माओवादी केन्द्रका नेताहरुले दाबी गरिरहेका छन् भने कांग्रेस–एमालेका नेताहरु भने धारा ७६(२) बमोजिम नै प्रधानमन्त्री नियुक्त हुने बताइरहेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले वर्तमान सरकारले विश्वासको मत नपाए संविधानको धारा ७६(३) को सरकार बन्छ भनेर भ्रम सिर्जना गरिएको बताउनुभयो । उहाँले नयाँ सरकार धारा ७६(२ं) अनुसार नै बन्ने जिकिर गर्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले दुई ठूला दलहरु मिलेर सरकार बनाउँदा कुन धारा अनुसार सरकार बनाउने भन्नेमा संविधान मौन रहेको बताउनुभयो । उहाँले ठूला पार्टीहरु मिलेर गरिएको सम्झौतालाई नै संवैधानिक रुपले लिनुपर्ने भन्दै सोही बमोजिम सरकार गठन हुने बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएमा संविधानको धारा ७६(३) बमोजिमको सरकार गठन हुने दाबी गर्नुभयो ।

सांसद सापकोटाले प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीले मतदान प्रक्रियाबाट नै विश्वासको मत लिने उहाँको भनाई छ ।