२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाकोे ह्विप


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रमुख सचेतक परियारले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि बताउनुभयो ।

प्रमुख सचेतक परियारले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुँदैछ । त्यसमा छलफल ग¥यौँ । पार्टीबाट सरकारमा जानुभएका मन्त्रीज्युहरुले आफ्ना काम कारबाहीबारे जानकारी गराउनु भयो । हामीले आज विश्वासको मत प्रश्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्युको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्वीप पनि जारी गरेका छौँ ।’

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताउनु भयो ।