
कस्तो चस्स चस्स दुख्यो, बोली बन्द भयो श्वास रुक्यो
झमझम हुँदा पाखुरा, लाग्छ रगत त्यही सुक्यो
असारको महिना थियो, पानी पर्थ्यो रमझम
त्यही पानीको सहारामा, रुन्थे म गुमसुम
कसलाई भनु वेदना यो, कोही थिएन दुःख सार्न
गरिब थिइन् आमा धनको, सकेन मनले निको पार्न
उपचारका लागि धाउन थाल्दा, स्कुल पनि छुट्यो
रोग के हो पत्ता नलाग्दा, आशाहरु टुट्यो
दिनहरु बित्दै गए, फेरि म स्कुल फर्किए
सँगै हाँस्ने खेल्ने साथी, परपर पन्छिए
नचलेको हात थियो, चाहिएको न्यानो साथ थियो
दुखमा नि पर भाग्ने, अजिव मान्छेको जात थियो
हाँस्न मन पराउने म, ओठबाट हाँसो भाग्यो
अरुको व्यवहार देख्दा यो संसार नै स्वार्थी लाग्यो
सबै साथी टाढा भए, कुनाको बेन्चमा एक्लै बस्थे
सरले पढाएको कुरा सकिनसकी कपीमा लेख्थे
दिउँसो खाजा खान, टिफिन खुल्दैन थियो हातले
चौरको कुनामा गइ, खोली खान्थे दाँतले
उपचारको लागि सबै ठाउँ धाइयो, सकियो पैसा बाबाको
नत रोग पता लाग्यो, विश्वास टुट्यो आमाको
एकान्तमा झर्थे आँसु, बर्षे भेल जसै गरि
के पाप गर्या थिएँ, नियति नै त्यस्तै होकि
भगवानमाथि विश्वास टुट्यो, ढोग्न छाडे मठ मन्दिर
डाक्टरले रोग पता लाएनन्, झारफुकले नि भेटेन खै
जिन्दगीदेखि थाकेको थिँए साथीले दियो साथ
नचिनेको मान्छे थियो सुन्यो मेरो बात
भेटियो साथी बोल्ने म एक्लै हुँदा सधैं
बिर्सियो होला उसले सम्झदैँ छु म अझै
यसै गरि बिते मेरा ६ महिना जति
तर पनि के भएको, थाहा भएन अलिकति
मन कमजोर भयो, हिम्मत टुट्यो सीसा सरी
सम्हाल्दै गए आफूलाई जसोतसो गरि
एकै ठाउँमा हजार पटक, रोएर म कठोर भए
दुखमा नि जिउन सिके, मन बलियो बनाउँदै गए
आज भोलि गर्दै मैले आफ्नै मनको डर जिते
केही होइन हात न हो आफ्नै मनको भर जिते
मेरो हिम्मत अनि सहाराले जिते आफ्नै मनलाई
आमाको स्याहार सुसारले जिते मैले रोगलाई
प्रतिक्रिया दिनुहोस्