
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ का लागि बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।
मार्गदर्शनमा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा डबल ‘सिफ्ट’ काम गराउन अर्थमन्त्रालयले आग्रह गरेको छ । अर्थले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा दुई ‘सिफ्ट’ मा काम गर्ने व्यवस्था मिलाउन विकासे मन्त्रालयहरूसँग आग्रह गरेको हो ।
आयोजनाको प्रभावकारी कार्यान्वयन गरी तोकिएको समयमा सम्पन्न गर्न आन्तरिक प्रतिस्पर्धाका आधारमा आयोजना प्रमुख छनोट गर्न पनि अर्थले मार्गदर्शनमा सुझाएको छ । यसैगरी, कार्यसम्पादन सम्झौतामा तोकिए अनुसार न्यूनतम अंक हासिल गर्न नसकेको अवस्थामा बाहेक आयोजना अवधिभरि सरुवा नगर्न पनि विकासे अड्डालाई अर्थले भनेको छ ।
अर्थले बजेटमा नपरेका आयोजना/कार्यक्रम अगाडि नबढाउन पनि सचेत गराएको छ । यस्ता कार्यक्रम अगाडि बढाए त्यसको जिम्मेदारी स्वयम् पदाधिकारीले लिनुपर्ने भन्दै यस्ता कार्यक्रममा बजेट निकासा, रकमान्तर र कार्यक्रम संशोधन नहुने समेत अर्थको मार्गनिर्देशमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्