
काठमाडौं । शेयर बजारमा बुधबार पनि उछाल जारी रह्यो ।
नयाँ सरकार निर्माणसंगै लगानीकर्तामा उत्साह जारी रहेको छ । बुधबार बजार परिसूचक नेप्सेले हाफ सेन्चुरी मार्दा कारोबार समेत बढेर १२ अर्ब नाघ्यो ।
नेप्से मंगलबार पनि ७० अंकले उकालो लागेको थियो । बुधबार उतार चढावबीच नेप्से ५४ अंकले उकालो लागेर २३ सय ६४ पुग्यो । सबै समूहमा हरियाली छाउँदा व्यापार समूहमा सबैभन्दा उच्च साढें ७ प्रतिशतको वृद्धि आयो । होटल तथा पर्यटन र वित्त समूह पनि दुवै साढें ५ प्रतिशतले उकालो लागे । विकास बैंक समूह पनि ४ प्रतिशतले उकालो लाग्दा निर्जीबन बीमा र उत्पादनमूलक समूह ३ प्रतिशतका दरले बढे । बाँकी समूह पनि दुई प्रतिशतका दरले सुधारिए ।
बुधबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ६ कम्पनीका ३ करोड २० लाख कित्ता शेयर १२ अर्ब बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । बुधबार सेन्ट्रल फाइनान्स, सिंगटी हाइड्रोलगायत आधा दर्जन बढी कम्पनीका शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।
प्रतिक्रिया दिनुहोस्