२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बंगलादेशमा रहेका नेपाली विद्यार्थी अप्ठेरोमा परे नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह


377
Shares

काठमाडौं । सरकारले बंगलादेशमा पछिल्लो समय भड्किएको हिंसाप्रति सरकार सचेत रहेको र त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको सुरक्षाका लागि समन्वय गरिरहेको दाबी गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बंगलादेशमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपालीको सुरक्षामा सरकार सचेत रहेको दाबी गरेको हो ।

बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थी तथा अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली दूतावाससंगको समन्वयमा बुझ्दा त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको पाइएको परराष्ट्रले जनाएको हो ।

नेपालीहरुलाई थप सहयोग र सहजताका लागि निरन्तर प्रयत्न भइरहेको पनि जनाइएको छ । परराष्ट्र मन्त्रालयले कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा तिनीहरुका नेपालमा रहेका अभिभावकका लागि ढाकास्थित नेपाली दूतावासको टेलिफोन नम्बर पनि उपलब्ध गराएको छ ।

ढाकास्थित दुतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गरेर सहयोगका लागि समन्वय गर्न सकिने जनाइएको छ ।