२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


बागमती र लुम्बिनी प्रदेशमा आज विश्वासको मत


0
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने हुनु भएको छ ।

अंक गणित प्रतिकूल भएपनि बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मत विभाजनसहित विश्वासको मत लिन लाग्नु भएको हो । शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णायार्थ पेस गर्ने निर्णय गरेको छ ।

गत असार १७ गते केन्द्रीय तहमा एमाले र काँग्रेसको सत्ता समीकरणको सहमति भएपछि बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार पनि संकटमा परेको थियो ।

यस्तै उता लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ । बैठक आज १ बजेका लागि आह्वान गरिएको छ ।

केन्द्रमा एमाले र काँग्रेसको सत्ता समीकरण भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

माओवादी संसदीय दल नेता महरा चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । महरा नेतृत्वको सरकारलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्ग बस्नेत गरी ४८ जनाको समर्थन प्राप्त थियो । अहिले मुख्यमन्त्री महरासँग १२ जनाको समर्थन मात्रै देखिन्छ ।