
काठमाडौं । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । मुख्यमन्त्री लामाले बुधबार बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री लामाले आजै काँग्रेसबाट सात र एमालेबाट ६ जनाको १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको जनाइएको छ ।
बागमती प्रदेश सरकारमा एमालेका प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, सुकमाया तामाङले उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयमा रहने भएका छन् ।
एमाले संसदीय दलले मंगलबारनै सरकारमा जाने मन्त्रीहरुसहित मन्त्रालयको टुंगो लगाएको थियो भने का्रग्रेसले अझै मन्त्रीहरुको टुंगो लगाउन सकेको छैन ।
मन्त्रालय बाँडफाँटअनुसार काँग्रेसको भागमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको छ ।
प्रतिक्रिया दिनुहोस्