
काठमाडौं । पेरिस अोलम्पिक २०२४ मा आज नेपालले सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने भएको छ ।
सुटिङमा नेपालका सुष्मिता नेपालले १० मिटरको एयर राइफलमा र पोडी तर्फ डुबाना लामाले हित चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । सुटिङको प्रतिस्पर्धाको समय स्थानीय समय अनुसार बिहान सवा ९ बजे र पौडीको स्थानीय समय अनुसार १२ बजेर ५ मिनेटमा शुुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा ब्याडमिन्टनका प्रिन्स दाहाल र टेबल टेनिसका स्यान्टु श्रेष्ठ सोझो सेटमा पराजित भएका छन् ।
पेरिस ओलम्पिकमा नेपालका दुई खेलाडीहरु स्यान्टु श्रेष्ठ र प्रिन्स दाहाल पहिलो खेलमै पराजित भएका छन् । पेरिसको एरिना सुदमा हिजो भएको टेबल टेनिसको खेलमा स्यान्टुलाई सेनेगलका खेलाडी इब्राहिम डियाले ४–० को सोझो सेटमा हराए ।
पहिलो सेट १२—१० को प्रतिस्पर्धात्मक सेटमा हारेका स्यान्टुले यसपछिका तीन सेट ३—११, ४—११ र ५—११ को सोझो सेटमा सुम्पिए । हारसँगै स्यान्टु श्रेष्ठको पेरिस ओलम्पिक यात्रा टुंगिएको छ ।
स्यान्टु नेपालबाट ओलम्पिकमा प्रतिनिधित्व गर्ने पहिलो टेबल टेनिस खेलाडी हुन् । पहिलो खेलमै पराजित भएपछि स्यान्टुले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन् ।
हिजै भएको ब्याडमिन्टनको खेलमा प्रिन्स दाहाल डेनमार्कका खेलाडीसँग २—० को सोझो सेटमा पराजित भए । विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनिस खेलाडी भिक्टर अक्सेल्सनले प्रिन्सलाई २१—८ र २१— ६ को सेटमा पराजित गरे ।
डेनिस खेलाडी भिक्टर टोकियो ओलम्पिकका स्वर्ण पदक विजेता खेलाडी हुन् । प्रिन्सले अब समुहको दोस्रो खेलमा सोमबार आयरल्याण्डका नाहट एन्गुएनसँग प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो खेल बुधवार इजरायलका मिसा जिल्बरम्यानसँग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्