२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने अभियानमा छौँ : अध्यक्ष दाहाल


442
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताउनुभएको छ ।

आइतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो । उहाँले आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने पनि बताउनुभयो । ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले आफूले सरकार छोड्दा विजेताको रुपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरु हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गर्नुभयो । उहाँले आफूहरु जनता र मुद्दासँग जोडिएको जिकिर गर्नुभयो । सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरु एक भएको आरोप लगाउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘हामी जनतासँग जोडिएका छौँ, हाम्रो मुद्दासँग जोडिएका छौँ । हाम्रो वर्ग र समुदायसँग जोडिएका छौँ । हामी सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको पक्षमा गम्भीरताका साथ पहल गर्दागर्दै सुशासनकै भय, डरका कारणले भ्रष्टहरु मिले भन्नेकुरा अहिले देशमा बच्चाबच्चाले पनि जानकारी पाएको छ । यो हाम्रो निम्ति संगठन बिस्तार गर्ने, सुदृढ गर्ने ठूलो आधार प्राप्त छ । त्यसकारण हामी उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आउँदैछौँ ।’

अध्यक्ष दाहालले उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आफूहरु लागेको पनि बताउनुभयो ।