
काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सहमति नजिक पुगेको छ ।
सोमवार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति भएको बताएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले टिआरसी विधेयक करिव टुंग्याउने चरणमा पुगेको बताउनुभयो । उहाँले बिहीवारसम्म अहिलेसम्म गरेका र सम्बन्धित निकायहरुसँग भएका छलफलको समीक्षा गर्ने र प्रतिवेदन तयार पार्ने बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले सबैले सत्ता पक्ष र प्रतिपक्षको नभइकन सिंगो देश र शान्तिको प्रक्रियालाई निष्कर्षमा पु¥याउने विषयसँग जोडेर जिम्मेवारीबोधका साथ संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुंगोमा पु¥याउनुपर्ने बताउनुभयो । अब लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य हुने बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याइ यही ऐनअनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेको बताउनुभयो ।
प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘१८ वर्षदेखि विभिन्न हिसावले उत्ताचढावमा रहेको, टुंगोमा पुग्न नसकेको, पीडितले न्याय पाउन नसकेको अवस्थालाई हामी लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहने अवस्थाको अन्त्य गर्नेछौँ । यो कानूनलाई अब चाँडो भन्दा चाँडो टुंग्याएर, यही ऐन अनुसार आयोग बनाएर पीडितलाई न्याय दिने र पीडकलाई सजायको दायरामा ल्याउने गरी अघि बढेका छौँ । यो महत्वपूर्ण छ ।’
कार्यदलको बैठक बिहीवार बिहान ८ बजे पुनः बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्