१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेरिस ओलम्पिकको पौडीमा आज अलेक्स शाह खेल्दै


286
Shares

काठमाडौं । पेरिस ओलम्पिकमा आज नेपालका पौडीवाज अलेक्जेण्डर शाहले प्रतिस्पर्धा गर्दैछन् । शाहले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल पेरिस ला–डिफेन्से एरिनामा नेपाली सयम अनुसार दिउँसो ३ बजे हुनेछ ।

यो विधामा राष्ट्रिय किर्तीमानधारी पौडीवाज शाह आज कम्तिमा आफ्नै नामको कीर्तिमान सुधार्न चाहन्छन् । कतारको दोहामा यसै वर्ष भएको विश्व पौडी च्याम्पियनसिपमा ५२ दशमलव १७ सेकेण्डको समय निकाल्दै शाहले राष्ट्रिय किर्तीमान राखेका थिए ।

तीन वर्षअघि भएको टोकियो ओलम्पिकमा पनि सहभागिता जनाएका शाहको ओलम्पिकमा यो दोस्रो सहभागिता हो । पेरिस ओलम्पिकमा पौडीतर्फ यसअघि नेपालकी डुवाना लामाले महिला दुई सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरिसकेकेकी छिन् ।

पेरिस ओलम्पिकमा हिजो भएका खेलहरुमा नेपालका प्रिन्स दाहाल र मनिता प्रधान श्रेष्ठ पराजित भएका छन् । ब्याडमिन्टनको पुरुष एकलतर्फ समुह चरणमा प्रिन्स लगातार दोस्रो खेलमा पराजित भएका हुन् ।

प्रिन्सलाई हिजो आयरल्याण्डका नाहट एन्गुएनले २१÷७ र २१÷५ ले पराजित गरे । यो हारसँगै प्रिन्सको समुह चरणबाट माथि उक्लने संभावना सकिएको छ । समुहको पहिलो खेलमा प्रिन्सलाई शीर्ष वरियताका डेनिस खेलाडी भिक्टर अक्सेल्सनले २÷० को सोझो सेटमा हराएका थिए । प्रिन्सले अब समुहको अन्तिम खेलमा बुधवार इजरायलका मिसा जिल्बरम्यानको सामना गर्नेछन् ।

हिजै भएको अर्को खेलमा जुडो खेलाडी मनिता श्रेष्ठ प्रधान पनि पराजित भएकी छिन् । पेरिसको एरिना स्याम्प–डे–मार्समा भएको महिला ५७ केजी मुनिको तौल समुहको खेलमा मनितालाई सर्वियाकी मारिचा पेरिसिचले इप्पोन अर्थात १०–० ले पराजित गरिन् । हारसँगै मनिताको यात्रा समुह चरणमै टुंगिएको छ । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका अन्य तीन खेलाडीहरु टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङ्गकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामाको प्रतिस्पर्धा पनि पहिलो खेलमै टुंगिएको छ ।