
शुरज थपलिया
लेखकका विचार, शब्द र भावना निजी हुन्छ । जब शब्द सार्वजनिक हुन्छ त्यसले अर्थ बोक्छ । यस्तै/यस्तै शब्द र वाक्य मिलेर कथा र निबन्ध बन्छ ।
एउटा शब्दको सुरुवातीबाट कथा बन्छ त्यहीँ कथा पटकथालाई लिएर चलचित्र निर्माण हुन्छ । त्यसैको सानो रुप टेलिफिल्म वा सिरियल हो ।
ठूला(ठूला संवाद र गहन छलफल नभए पनि टेलिफिल्म बन्नका लागि पर्याप्त हुन्छ । सानो सन्देश र चोटिलो संवादले कतिपय अवस्थामा सुन्दर कथा बन्न सक्छ भन्ने कयौँ उदाहरण छन् । यहाँ मैले कुरा गर्न खोजेको टेलिभिजन र युट्युबमा देखाइने कथा र विषयको हो ।
टेलिफिल्महरू केही हलुका हुन्छन त केही दर्शकलाई लोभ्याउने खालका हुन्छन् । हल्का विषयवस्तु भएका सिरियल दर्शकमाझ धेरै समय टिक्न सक्दैन । त्यसैले सिरियलका लागि पनि राम्रा र विषय बोकेका कथा हुनुपर्छ ।
राम्रो पटकथाका लागि लेखकको ठूलो भूमिका हुन्छ । दर्शकलाई मध्यनजर गरेर बनाएका सिरियल अर्गानिक र हृदय छुने हुन्छ । दार्जिलिङमा बनेको ‘अमुईनी सिरियल’ एउटा त्यस्तै सिरियल हो ।
सिरियलको २०औं भागमा पुग्दा अमुईनीले दर्शकको मन जितेको छ । एकपछि अर्को भाग दर्शकको मन मुटुमा बस्न सफल भएको छ ।
यो सिरियल शुक्रबार बेलुका ७ बजे फ्युचर आइ प्रोडक्सन युट्युब च्यानलमार्फत प्रसारण भयो पोस्ट प्रोडक्सनको जिम्मा लिएको उक्त च्यानलले म्युजिक भिडियो, कभर सङलगायत पनि सार्वजनिक गर्दै आएको छ ।
सिरियलको पटकथाको लेखन र निर्देशनको काम मनिष राईले गरेका छन् । प्राय कलाकार नयाँ भएकाले दर्शक माझ आफ्नो छाप छोड्न अलि समय लागेको देखिन्छ ।
पुराना स्थापित पात्रलाई राखेको भए सिरियल र कलाकार दुवै स्थापित गर्न सहज हुन्थ्यो । नयाँ कलाकार भए पनि दर्शक तान्न गरिएको मेहेनत सर्हानीय छ । नयाँपन र राम्रो पटकथा हामी एक पछि अर्को भागमा प्रशस्तै देख्न सक्छौं ।
अमुईनी हाँस्य सिरियल लगभग ४ महिना अघि सुरु भएको थियो । यसमा १५ जना कलाकारहरू छन् । स्क्रिनमा देखिने प्राय कलाकार नयाँ छन् । ‘अमुईनी’ सिरियलको पोष्टरमा देखिने तस्बिर कलाकार मनिस राई (पेन्तेरेङ्ग)को हो । पेन्तेरेङ्गको प्याकुली भन्दै देखाइने पात्र हुन कमला गुरुङ ।
यसमा हँसिलो अनुहारमा देखिने अर्को पात्र हुन अम्बिका थापा (लुप्री) जसलाई राजेन गुरुङ (डेन्जर मेमे) को श्रीमतीको रूपमा देखाइन्छ । भाष्कर राई (तिखे चार्ली), पर्सु दास सुब्बा (गड्के), रश्मि प्रधान (पोक्ची), बाबुराम शर्मा (बीरेपन बाजे), दिपेन बस्नेत (बसन्ती सर), प्रेम विश्वकर्मा (दाल वाला), पुरन राई (र्यापर), अशिम तामाङ (मुतुन दा), नवीन क्षेत्री (बुधे) र बाल कलाकारको रूपमा युदेन लामा (झ्याउकुरी) र आहना गुरुङ (भङ्गरी) छन् ।
विषयगत विविधता रहेको यो हाँस्य सीरियल निकै रमाइलो छ । कहिले चुनावी माहोल, कहिले व्यंग्यात्मक, कहिले हाँस्य श्रृखला, कहिले ऋणदाताको समस्या लगायत पटकथाहरू हामी हेर्न सक्छौं ।
यसमा श्रीमान/श्रीमतीको सम्बन्ध, अवकाश प्राप्त सैनिक, र्यापर आदि लगायतका कथा देखाइएको छ । बाल कलाकारहरुले गरेको अभिनय निकै राम्रो छ ।
दुवै बाल कलाकारहरूलाई दिदिबहिनीको पात्रको रूपमा देखाइएको छ । झट्ट हेर्दा कसैले नयाँ कलाकार भनेर ठम्याउन सक्दैनन् । यस हाँस्य सिरियल मिरिकमा छायाकंन गरिएको हो ।
अति रमणीय सहर मिरिक र त्यहाँका जनजीवनका कथा यसमा समावेश छ । मिरिक भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाको एउटा सानो सहर र अधिसूचित क्षेत्र हो । यो मिरिक उपविभागको मुख्यालय हो ।
सिरियलमा प्रयोग गरिएका आम्बो, रेला आदि जस्ता शब्द निकै मनमोहक छन् सुन्दा पनि दार्जिलिङ्गे लवज मिठो लाग्छ रैथाने भाषाले सिरियललाई जीवन्त बनाएको छ ।
१२ महिना नै चिसो मौसम, हुस्सु र झरी हुने दार्जिलिङको मिरिकका दृश्य अति सुन्दर छन् सीरियलमा मध्यम वर्गको परिवारको कथा समेटिएको छ । भेषभुषा र पहिरन नेपालीसँग मिल्दोजुल्दो छ ।
हामी नेपाली भएको हिसाबले देश बाहिर पनि नेपाल र नेपाली भाषालाई माया गर्नेहरू देख्दा गर्व लाग्छ । यो सिरियल हेरिरहँदा त्यहाँका नेपाली भाषीले हामीले भन्दा पनि बढी नेपाल र नेपाली भाषालाई माया गरेको महसुस हुन्छ ।
सिमाना भित्र रहेर सत्तामा रजाइँ गर्नेहरू दिनहुँ जस्तो झैँ-झगडा गर्छन् । तर सीमा पारि रहेका ती नेपाली मूलका नेपाली भाषीले देखाएको नेपाल र नेपाली भाषालाई गरेको माया सायद कुनै नेपाली संसदले गर्न सक्छन्!
गोर्खाल्याण्ड आन्दोलनको समर्थन गर्ने नेपाली भाषी भारतीयहरूको नेपालप्रति गहिरो र अटुट माया छ । उनीहरू नेपालसँग सांस्कृतिक, ऐतिहासिक र जातीय सम्बन्ध मात्रै भएको महसुस गर्दैनन्, मुटुदेखि मुटुसम्मको सम्बन्ध रहेको महसुस गर्छन् । नेपालको भाषा, परम्परा र सांस्कृतिक धरोहरलाई उनीहरू गर्व साथ स्वीकार्छन्, माया गर्छन र आफ्नो पहिचान बनाइरहेका छन् ।
गोर्खाल्याण्ड क्षेत्रको नेपाली भाषी समुदायले नेपाललाई आफ्नो पुर्ख्यौली भूमि मान्छन् । नेपालको सांस्कृतिक पहिचान जोगाउने कोशिसमा सक्रिय छन् । हो यहि कारणबस जन्मिएको हो नेपाली भाषी सीरियल ‘अमुईनी’
दार्जेलिङे तथा विश्वभर फैलिएर बस्ने नेपालीलाई लक्षित गरि सीरियल निर्माण गरेको निर्माण टिमले दावी गरेका छन् । घरमा बसी नेपाली सीरियल तथा फ्लिम हेर्ने साना नानीबाबु तथा आम मानिसलाई यो राम्रो खुराक बनेको छ ।
एकतर्फी हेर्दा मिरिकका नानीबाबुप्रति गर्व लाग्छ । जति माया त्यहाँका स्थानीयले नेपाललाई गरेका छन् । त्यति माया नेपालीका बच्चाहरुले गरेको पाइन्न । दार्जिलिङमा सानैदेखि आफ्नो भेषभूषा र संस्कृतिलाई माया गर्न सिकाइन्छ ।
नेपालका बालबालिकालाई बोली फुट्नासाथ सकी नसकी अंग्रेजी राईम देखाइन्छ र अंग्रेजी बोल्न प्रेरित गरिन्छ । नेपाली भन्दा अंग्रेजी बोल्नुमा गर्व ठान्ने समाजको अनुयायी बढ्दै गएको देख्न सकिन्छ । यो निकै दुखलाग्दो कुरा हो ।
त्यहीँ सन्दर्भलाई भने अमुईनीले नराम्रोसँग झापड हानेको छ । भाषा मौलिक हुनुपर्छ । बनावटी हुनुहुन्न । ताकि त्यसले आफ्नो भाषामा गर्व गर्न सिकाओस् । यो टेलिफिल्मले हरेक नेपालीलाई अन्जानमै पाठ सिकाइरहेको छ । यसले आफ्नो भाषा, भेषभुषा, संस्कार र संस्कृतिलाई माया गर्न प्रेरित गरेको छ ।
देशको माया देश नभएपछि र देश भन्दा पर पुगेपछि मात्रै होइन, देशमै रहेर गर्नुपर्छ । आफ्नो देशको सम्पति नै संस्कृति र संस्कार हो । यसलाई देखाएर विश्वमा आफूलाई परिचित गराउने सन्देश हामी नेपालीलाई यो सिरियलले दिन्छ ।
सिरियलको ब्याकग्राउण्डमा बजाइएको गीत र धुनहरुले मन्त्रमुग्ध बनाउँछ । दर्शकको मन मुटु तानेको छ । तर सिन परिवर्तन हुदाँ पात्र गएपछि देखाइएको दृश्य चाहिँ अलि लामो भए जस्तो लाग्छ । छिटो सिन परिवर्तन गरेर पात्र देखाउन सके अझै राम्रो हुने थियो ।
कुनै भागमा (एपिसोड) एकै ठाउँबाट लामो सट लिँदा अलि भिडियो कमजोर भएको देखिन्छ । फरक क्यामेराबाट फरक एंगलमा देखाउन नसक्नु यसको अर्को खराब पाटो हो । सिरियलको कुरा गर्दै गर्दा यसले युट्युब च्यानलमार्फत मात्र भिडियो सार्वजनिक गर्नु अर्को नराम्रो पाटो हो ।
२० एपिसोड प्रसारण गर्दा राष्ट्रिय टेलिभिजनमा गरेको भए अझै धेरै दर्शकको माया पाउन सक्थ्यो । नेपालमा भन्दा भारतमा इन्टरनेटको विकास र विस्तार व्यापक छ । घर घरमा इन्टरनेट र टिभि छ । तर पनि राष्ट्रिय च्यानलबाट आएको भए राम्रो हुन्थ्यो कि ?
सिरियल उत्पादन कम बजेटमा गरेको भए पनि ३० देखि ३५ मिनेटको एपिसोडहरू कति बेला सकिन्छ थाहा नै हुन्न । यसले दर्शकको मन लोभ्याएको देखिन्छ । तर कार्यक्रम हेरिरहँदा यसको कथाक्रम लगातार नबगेको जस्तो अनुभूति हुन्छ । कुनै कुनै कलाकारले गरेको अभनय अलि भद्दा जस्तो लाग्छ ।
कलाकारको कपडा र दर्शक हसाउँन गरेको अभिनय साधारण भएको भए मज्जा आउने थियो समसामयिक विषय र कथाक्रम भएको भए यसले दर्शक माझ अझै माया पाउने थियो ।
प्रतिक्रिया दिनुहोस्