६ चैत्र २०८१, बुधबार | Wed Mar 19 2025


अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी छैन : परराष्ट्रमन्त्री राणा


1.014k
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिलेका मन्त्रीहरुलाई स्टन्ट गर्न जरुरी नरहेको बताउनुभएको छ ।

परराष्ट्रमन्त्री राणाले बुधबार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

परराष्ट्रमन्त्री राणाले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरु रहेको उल्लेख गर्दै आफूहरुले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले सरकारमा रहेका मन्त्रीहरुलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

परराष्ट्रमन्त्री राणाले अहिलेको सरकारले अर्थ कुटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताउनुभयो । उहाँले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताउनुभयो । उहाँले दुवै राजनीतिक दलहरुको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो ।

परराष्ट्रमन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली । कांग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पु¥याउने दाबी गर्नुभयो ।