१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सडक बत्तीको महशुल ६०-४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउँछु : उपप्रधानमन्त्री सिंह


832
Shares

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्नेगरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

बिहीबार मन्त्रालयमा उपत्यका मेयर्स फोरमहरुसँगको भेटका क्रममा उपप्रधानमन्त्री सिंहले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरु खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरुमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि शहरी विकास मन्त्रायलै रहेको बताउनुभयो । उहाँले सडकको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने पनि बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले शहर स्वच्छ हुनुपर्ने चन्दै नदीको सरसफाईमा तीन तहकै सरकार मिलेर काम अघि बढाउने बताउनुभयो । उहाँले काठमाडौं उपत्यका प्राधिकरणलाई पुनःसंरचना गरी मेयरहरुको सहभागिता गराइने बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा आनाकानी गर्न नहुने बताउनुभयो । उहाँले नदीमा सिधा ढल मिसाउन नदिने गरी व्यवस्थापनमा लागेको बताउनुभयो ।