२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राज्यका सबै निकायहरुमा सदाचार कायम हुनुपर्नेमा राष्ट्रिय सभा सदस्यहरुको जोड


117
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरुले राज्यका सबै निकायहरुमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुशासनको प्रवद्र्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा भएको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले राज्यका सबै निकायमा सदाचार कायम हुनुपर्नेमा जोड दिएका हुन् ।

सदस्यहरुले सदाचार नीति आवश्यक भएको बताएका छन् । तर नीति ल्याएर मात्रै नहुने भन्दै त्यसको कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।

बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले सदाचार नीति बनाएर लागु गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले स्वेच्छिक, स्वघोषित व्यवहारमा कार्यान्वयन गर्न गरिएको नैतिक अठोट नै सदाचार भएको भन्दै संविधान र कानुन भन्दा यसको नैतिक मुल्य महङ्गो हुने बताउनुभयो । उहाँले राजनीतिक नेतृत्व र कर्मचारीलाई अनुशासित, शतर्क र जवाफदेही बनाउनका लागि निश्चित विधि बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले सदाचार कायम गर्न सरकार जिम्मेवार भएको धारणा राख्नुभयो । उहाँले नेता र नेतृत्वले सही सोच राखेर काम गर्नुपर्ने भन्दै कर्मचारीलाई दोष दिएर नहुने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राजनीतिक क्षेत्रमा राजनीतिक इमान्दारिता र नैतिकता चाहिने भन्दै पार्टीहरुमा त्यो भए÷नभएको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँले आचरणको हिसावले नेपाली समाज धेरै पछाडी परेको बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सरकारले गरेका कामहरु सदाचारी हुन् कि होइनन् भनेर प्रश्न उठाउनुभयो । उहाँले सुचनाको हक नदिएर संविधान उल्लंघन गरेको कसुरमा जरिवाना तिरेका व्यक्तिले राजनीतिक नियुक्ति पाएको उल्लेख गर्दै यो सदाचार नीति भित्र पर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभयो । उहाँले विभिन्न आरोप लागेका व्यक्तिहरु मन्त्री बनेका भन्दै यसप्रति पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राज्यले सदाचार लागू गर्ने भए कानून बनाएर लागू गर्नुपर्ने बताउनुभयो । उहाँले नीतिद्वारा सदाचार लागू नहुने धारणा राख्नुभयो ।

राष्ट्रिय सभा सदस्यहरुले नेपालमा नीति धेरै भएको भन्दै नीतिहरुको कार्यान्वयन भने हुन नसकेको बताए । नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा सबैको जोड रहेको छ ।